लायन्स क्लब इन्टरनेशनल द्वारा नयाँ आठ क्लबको औपचारिक उद्घाटन

काठमाडौ । लायन्स क्लबले आफ्नो ‘सेन्टेनियल इयर’ को अवसरमा लायन्स क्लब अन्तरगतका नयाँ आठवटा क्लबको औपचारिक उद्घाटन गरेको छ ।
धुम्बराही स्थित स्मार्ट क्याफेमा आयोजना गरेको उक्त कार्यक्रममा लायन्स क्लब अफ ओखलढुंगा, लायन्स क्लब अफ रामेछाप सेन्टेनियल, लायन्स क्लब अफ नेपाल हिमालय एक्सीलेन्सी, लायन्स क्लब अफ नेपाल जागृति, लायन्स क्लब अफ नेपाल अनेस्टी, लायन्स क्लब अफ काठमाडौं ओपेरासिटी, लायन्स क्लब अफ भक्तपुर हलेसी र लायन्स क्लब अफ धुम्रबराहलाई औपचारिक रुपमा उद्घाटन गर्ने कार्य सम्पन्न गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल (३२५ ए टु) का डिस्ट्रिक गभर्नर कृष्ण प्रसाद अवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अवालले सबै क्लबका प्रेसिडेन्ट तथा सदस्यहरूलाई सपथग्रहण गराउनुका साथै प्रतिनिधिहरूलाई पिन र चार्टर प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रमुख अतिथि अवालले लायन्स क्लब इन्टरनेशनलको ऐतिहासिक विकासक्रम, अवधारणा र नयाँ क्लब खोल्ने प्रावधानका बारेमा प्रकाश पार्दै सबै पदाधिकारीहरूको काम कर्तव्य र अधिकारका वारेमा अवगत गराउनुभएको थियो । सो अवसरमा प्रमुख अतिथि अवालले ‘सेन्टेनियल इयर’ लाई सार्थक रुपमा सम्पन्न गर्नका लागि नयाँ क्लबहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पास्ट डिस्ट्रिक गभर्नर शम्भुप्रसाद घिमिरेले सेन्टेनियल इयरको अवसरमा आठवटा क्लबलाई एकैपटक चार्टर वितरण गर्ने ऐतिहासिक कार्य सम्पन्न गर्न सफल भएकोमा प्रमुख अतिथि अवाल लगायत क्लब खोल्न सहयोग गर्ने अरु ४ वटा क्लबका प्रतिनिधिहरूको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सन् १९१७ मा सिकागोका विमा व्यवसायी मेल्भीन जोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको लायन्स क्लब इन्टरनेशनल अहिले २१२ वटा मुलुकमा स्थापना भइसकेको छ । विश्वभर यसको सदस्य सख्या १४ लाख पुगिसकेको छ भने नेपालमा पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाको अगुवाईमा पुर्वी नेपालको विराटनगरबाट यसको सुरुवात भएको हो । लायन्स क्लब इन्टरनेशनले अहिले नेपालभर ८०० भन्दा बढी लायन्स क्लब इन्टरनेशनल रहेको र यसमा आवद्ध २४ हजार भन्दा बढी सदस्यहरू आवद्ध रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया