ब्यापारीको मनलागी, मूल्य सूचि विनै पसल सञ्चालन

काठमाडौं– नियम अनुसार हरेक व्यवसायीले आफुले बिक्रि गर्ने वस्तुको मुल्य उपभोक्ताले प्रष्ट देख्नेगरी राख्नुपर्छ । तर केही अपवादलाई छाड्ने हो भने काठमाडौंका अधिकांश पसलमा मूल्यसूची राखेको पाइदैन । यसरी पसलेहरुले मापदण्ड पुरा नागर्दा उपभोक्ताहरु दैनिक उपभोग्य सामान खरिद गर्दा पसलैपिच्छे फरक फरक मुल्य तिर्न बाध्य छन् ।

कुनैपनि सामानमा २० प्रतिशत भन्दा बढी नाफा जोडेर बिक्री गर्नेलाई कालोबजारी ऐन अन्तर्गत कारवाही गर्न सक्ने व्यवस्था छ । तर मुल्य नियन्त्रण देखि कारवाही सम्मको अधिकार पाएको निकाय आपुर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग भने प्रतिपर्धाको बजार भएकाले व्यवसायीले गुणस्तर अनुसार सामानको मुल्य निर्धारण गर्न पाउने फितलो जवाफ दिन्छ । यति मात्र होइन, अधिकाशं पसलमा मुल्य सुची रहेको र नभएका पसललाई कारवाही गरिरहेको विभागको दाबी छ । विभागले जे जस्तो दावी गरेपनि दैनिक उपभोग्य सामाग्रीमा उपभोक्ता ठगिन भने छाडेका छैनन् । बजारमा अधिकांश पसल चाहार्दा पनि मुल्य सूची भेटिन हम्मे पर्छ । चाडपर्वका बेलामा विभागले अनुगमन गरेजस्तो गरेको थियो । तर दशैतिहारपछि बजार अनुगमन भने शुन्य नै छ ।

यता उपभोक्ता भने गुणस्तरहिन सामान, पसलैपिच्छेका फरक फरक मुल्य आदिका कारण हैरान छन् । बजार अनुगमन र कारवाहीका लागि आपुर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागसहित १० ओटा नियमनकारी निकाय छन् । तर यी निकायहरु बिच समन्वयको अभावले अनुगमन प्रभावकारी नभएको विभाग आफै स्विकार गर्छ । सरकारी निकायकै समन्वयको अभावले गर्दा उपभोक्ता भने सधै मारमा परिरहेका छन् ।

तपाईको प्रतिक्रिया