स्वाधीनताको सङ्कट र राष्ट्रिय एकताको आवश्यकता

टीकादास श्रेष्ठ – ‘पुराना मूल्य र मान्यताअनुसार राष्ट्र एकीकरण गरेको दिनलाई उत्सवको रूपमा मनाउँदैमा दरबार छाडेका पूर्व राजा ज्ञानेन्द्रलाई ल्याउनुपर्छ भन्ने होइन । यसका लागि राज्य विस्तारमा  महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिले अवलम्बन गरेको नीति र सत् व्यवहारलाई उपयोगमा ल्याएर राष्ट्रको शिर उच्च राख्दै सङ्घीय गणतन्त्रलाई निरन्तरता दिने सत्बुद्धि अहिलेका सरकार र राजनीतिक दलहरूमा पलाउनु आवश्यक छ ।’  

‘अहिले विदेशीलाई उक्साएर नेपालमा हस्तक्षेप गर्न नेपाली स्वयम् नै लागिपरेको अवस्थामा पृथ्वीनारयण शाहले कसरी अहिलेसम्म अखण्ड रहने मुलुक निर्माण गर्न सफल भए भन्ने विषयले विशेष महत्व राख्ने हुँदा पृथ्वीजयन्ती मनाउन नचाहनु जनभावना र राष्ट्रिय एकताको हित विपरीतको कार्य हो ।’

‘राष्ट्रिय अखण्डता र स्वाधीनतामा आँच आउने विषयमा जनताले दिएको सुझावको समेत अवमूल्यन गरेर राजनीतिक दलहरू अगाडि बढिरहेको स्थिति छ । जनताको सुझावलाई बेवास्ता गर्ने दलहरूले इतिहासको कालखण्डमा सङ्घीयताको आधार खडा गर्ने राष्ट्रनिर्मातालाई समेत सम्झन चाहेनन् ।’

हरेक देशमा नयाँ परिवर्तनपछि पुराना  मौलिक संस्कृति लोप हुन्छन् । नेपालमा पनि पुराना पुस्ताले धानेको संस्कृतिको बिँडो अहिले सङ्कटमा पर्दै गएको छ । विज्ञान प्रविधिको युगसँगै देशको राजनीति, समाज, संस्कार र संस्कृति पनि परिवर्तन हुन्छन् । तर परिवर्तन गर्ने क्रममा कस्तो संस्कार र संस्कृतिलाई हटाउने र कस्ता संस्कृतिलाई निरन्तरता दिने भन्ने विषयको निर्धारण गर्नुलाई धेरै महत्वपूर्ण मानिन्छ ।

विकसित देशहरूले आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्नका लागि विज्ञान प्रविधिको युगसँगै संस्कार र संस्कृतिलाई पनि विकसित गरेर लैजाने कार्यलाई प्राथमिकता दिइरहेको पाइन्छ । तर नेपालले विभिन्न तन्त्र र वादलाई समाप्त पार्दै पुराना संस्कार र संस्कृतिलाई पनि सँगै विस्थापित गर्दै आएको छ । हिजोको संस्कार र संस्कृतिको उपजले आजको समाज र संस्कृतिको पहिचान गराउँदछ । संस्कृति राष्ट्रको गहना पनि हो ।

त्यसैले असल संस्कृतिको अवलम्बन गर्दा नै राष्ट्रको मौलिक पहिचान स्थापित हुन्छ भन्ने विषयमा राज्य, राजनीतिक दल तथा नागरिकहरूको ध्यानाकर्षण हुनु आवश्यक छ । माथिको यो प्रसङ्ग आउँदै गरेको राष्ट्रिय एकता दिवसको रूपमा मनाइने पृथ्वी जयन्तीको सन्दर्भमा आएको हो । हरेक सन्दर्भमा मनाउने उत्सव पर्वहरूको पनि आफ्नै  हुन्छ । जसमध्ये बाइसे चौबीसे राज्यमा बिभाजित नेपाललाई एउटै मालामा उनेको दिन पुस २७ गतेलाई नेपालमा विशेष रूपमा मनाइने गरिन्थ्यो । देश गणतन्त्रमा गएपछि पृथ्वीजयन्ती मनाउने संस्कृतिलाई प्रतिबन्द गरिएको छ ।

यसबाट हरेक संस्कार र संस्कृतिलाई निरन्तरता दिने कि नदिने भन्ने विषय राजनीतिक परिवेशमा पनि निर्भर हुन्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ । राष्ट्रिय एकता दिवस नमनाउँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सही ढङ्गले बुभ्mने र एकीकरणको महत्वलाई आत्मसात् गर्दै नयाँ युगमा जाने विषयमा पूरै प्रतिबन्ध लगाउने कार्य भएको छ । पछिल्लो समयमा त राष्ट्रियताको स्वाधीनतामा नै आँच आउँने कामहरू भइरहेका छन् । अहिले हरेक स्वाभिमानी नेपालीहरूले पृथ्वीनारायण जस्ता स्वाभिमानी तथा दूरदर्शी राष्ट्र निर्मातालाई स्मरण गर्न बाध्य हुनुपर्ने अवस्था सृजना भएको छ ।

यो सबै जिम्मेवार राजनीतिक दलहरूको लागि दुर्भाग्यको विषय हो । सत्तामा बसेर  परिवर्तनको संवाहक भन्नेहरूले २५० वर्ष पहिले नै नेपाललाई स्वाधीन राज्य वनाउँने योद्धालाई साख गुमाइसकेका तत्कालीन राजा ज्ञानेन्द्र शाहका पूर्वजको रूपमा मात्र हेर्ने प्रवृत्तिले गर्दा राष्ट्रिय एकता जस्तो महत्वपूर्ण विषय ओझेलमा परेको छ ।
अर्को शब्दमा भन्नुपर्दा ज्ञानेन्द्रमाथिको रिस राष्ट्रनिर्माताउपर खन्याउने काम भएको छ । पृथ्वीनारायण शाहले बनाएको ४ वर्ण ३६ जातको साझा पूmलवारीलाई दोस्रो जनआन्दोलनपछि ‘नयाँ नेपाल’ भन्न थालियो । तर नयाँ नेपालका निम्ति जग बसाउने योद्धाको स्मरण गरेर सम्मान गर्नुपर्नेमा उल्टै निर्जीव सालिकलाई समेत ठाडो बस्न नदिने दुस्साहस राजनीतिक दलहरूबाट भएको छ । नेपाली जनता परिवर्तनमा विश्वास राख्छन्, त्यसमा कुनै दुईमत छैन ।

तर परिवर्तनको नाममा परम्परागत मूल्य र मान्यताप्रति पूरै पूर्वाग्रही भइ मुलुकको स्वाधीनतालाई दाउमा राखेर ल्याएको परिवर्तनले मात्र राष्ट्रको हित गर्न सक्दैन भन्ने विषयमा राष्ट्रभक्त नेपालीले समयमै सोच्नुपर्दछ । पुराना मूल्य र मान्यताअनुसार राष्ट्र एकीकरण गरेको दिनलाई उत्सवको रूपमा मनाउँदैमा दरबार छाडेका पूर्व राजा ज्ञानेन्द्रलाई ल्याउनुपर्छ भन्ने होइन । यसका लागि राज्य विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिले अवलम्बन गरेको सत् व्यवहारलाई उपयोगमा ल्याएर राष्ट्रको शिर उच्च राख्दै सङ्घीय गणतन्त्रलाई निरन्तरता दिने सत्बुद्धि अहिलेका सरकार र राजनीतिक दलहरूमा पलाउनु आवश्यक छ ।
नयाँ नेपालको विषयमा चर्चा गर्दा हामीले टेकेको भूमि कसरी अहिलेसम्म अविछिन्न बन्यो भन्ने विषयको बारेमा अध्ययन गर्ने कि राष्ट्र निर्माताको शालिक तोड्दै हिड्ने ? अहिलेको परराष्ट्र नीतिका बीचमा तुलनात्मक अध्ययन गरेर राष्ट्रलाई अगाडि बढाउन हाम्रा राजनेताहरूलाई किन अप्ठेरो परिरहेको छ भन्ने पश्न यत्रतत्र उठीरहेका छन् ।

अहिले विदेशीलाई उक्साएर नेपालमा हस्तक्षेप गर्न नेपाली स्वयम् नै लागिपरेको अवस्थामा पृथ्वीनारयण शाहले कसरी अहिलेसम्म अखण्ड रहने मुलुक निर्माण गर्न सफल भए भन्ने विषयले विशेष महत्व राख्ने हुँदा पृथ्वीजयन्ती मनाउन नचाहनु जनभावना र राष्ट्रिय एकताको हित विपरीतको कार्य हो । अहिलेका नेताहरूले सङ्घीयताका नाममा विदेशी शक्तिलाई नेपालमा नाङ्गो हस्तक्षेप गराउने कार्य गर्दै आएका छन् ।

नेपाल गणतन्त्रमा गएपछि आफ्नो   निर्णय आफैँ गर्ने भन्दा पनि विदेशी शक्ति केन्द्रको निर्णयलाई प्रश्रय दिने प्रवृत्ति बढ्नु सम्पूर्ण नेपालीहरूका लागि दुःखको कुरा हो । स्वदेशको संविधान निर्माण र सीमाङ्कन गर्न पनि विदेशीको इसारा मान्नुपर्ने अवस्था सिर्जना भयो । इसारा नमान्दा देशले नै नाकाबन्दीको अमानवीय व्यवहारको समाना गर्नुपर्‍यो । जसले नयाँ संविधान जारी हुँदा समेत स्वागत गरेनन् तर अहिले संविधान शंसोधन गर्ने कुरामा बहुसख्यक नेपालीहरू असहत हुँदा समेत छिमेकी देशले स्वागतयोग्य कदम भनी प्रशंसा गरेको छ । यी कारणले पनि अहिले राष्ट्रिय एकता र स्वाधिनता संकटमा पर्दै गएको आभाष नेपाली जनताले गरिरहेका छन् ।
अहिले केही राजनीतिक दलहरू छिमेकीको इसारामा ४ जात ३६ वर्णको शाझा पूmलवारीलाई टुक्रयाउने षडयन्त्रमा लागिरहेका बेला राष्ट्रिय एकता दिवसको महत्व बढ्न थालेको छ । सरकारले मधेसवादी दलहरूको माग सम्बोधन गर्नकै लागि संविधान शंंसोधनको प्रस्ताव संसदमा पेस गरिसकेको छ । प्रतिपक्षी दल एमाले लगायतका अन्य दलहरूले भने राष्ट्रिय एकता र स्वाधीनताको विषयमा बहस गरेपनि यो विषय सबै राजनीतिक दलहरूको साझा अवधारणा बन्न सकेको छैन । सबैको आ–आप्mनै स्वार्थका खातिर तराइ पहाड र हिमाल मिलेर बनेको सुन्दर शान्त मुलुकका बीचमा बैमनस्यता ल्याउने गरी सिमाङ्कनमा हेरफेर गर्न सरकार र राजनीतिक दलहरू लागिरहेका छन् ।

एक प्रकारले हेर्दा त अहिलेका राजनीतिक दलहरू जग्गा दलाली हुन् र उनीहरूले सीमाङ्कनका विषयमा गरेका निर्णय जग्गा प्लटिङ जस्तै भएको छ । राष्ट्रिय अखण्डता र स्वाधीनतामा आँच आउने विषयमा जनताले दिएको सुझावको समेत अवमूल्यन गरेर राजनीतिक दलहरू अगाडि बढिरहेको स्थिति छ । जनताको सुझावलाई बेवास्ता गर्ने दलहरूले इतिहासको कालखण्डमा सङ्घीयताको आधार खडा गर्ने राष्ट्रनिर्मातालाई समेत सम्झन चाहेनन् ।

यदि पृथ्वीनारायण शाहले अहिलेको सिङ्गो नेपालको स्वरूप नदिएका भए अहिलेका सङ्घीय राज्यको परिकल्पना नै गर्न नसकिने विषयलाई भुल्न नहुने भन्नेमा एउटा पक्ष उभिएको छ भने पृथ्वीनारायण शाह विस्तारवादी सामन्तवादी भएकाले उनको अस्तित्व स्विकारेर जन्मदिवस मनाउनु भनेको राजतन्त्र र सामन्तवादको अस्तित्व स्विकार्नु हो भन्ने पक्षमा अर्को पक्ष उभिएको छ । यसै विषयलाई लिएर हरेक वर्ष राष्ट्रिय एकता दिवस मनाउने विषय विवादमूक्त बन्न सेकेको छैन ।
पृथ्वीनारायण शाहले २६ वर्षको उमेरदेखि जीवनको अन्तिम अवस्थासम्म राष्ट्रिय एकीकरण गर्नुमा नै सबै समय खर्चेका थिए । गोरखाबाट विभिन्न राज्यमाथि कब्जा जमाएर वि.सं. १८२६ मा नेपाल एकीकरण सुरू गरेका पृथ्वीनारयाण शाहको वि.सं. १८३१ मा निधन भयो । उनको अभियानमा छोरा बहादुर शाहले निरन्तरता दिए । बहादुर शाहको पालामा पूर्वमा टिस्टा नदीदेखि पश्चिममा सतलज र दक्षिणमा मगधसम्म नेपाल विस्तार भयो । तर ४ मार्च सन् १८१६ मा सुगौली सन्धिमा हस्ताक्षर भएपछि भने नेपालको सीमा खुम्चिएर अहिलेको मेची–महाकाली बनेको थियो । पृथ्वीनारायण शाहले काठमाडौमा विजय प्राप्त गर्नका लागि नाकाबन्दी लगाएका थिए ।

कीर्तिपुरमाथि विजय प्राप्त गर्न उनले ठूलो सङ्घर्ष गर्नुपरेको थियो । उनले कीर्तिपुर विजय प्राप्त गर्न पहिलो आक्रमणमा काजी कालु पाँडेलाई गुमाउनुपरेको थियो भने दोस्रो आक्रमणमा आफ्नै भाइ सुरप्रताप शाहको आँखा फुटेको थियो । तेस्रो आक्रमण गर्दा पनि महिनौंसम्म कीर्तिपुरमा नाकाबन्दी लगाएर विजय प्राप्त गरेको कुरा इतिहासबाट बुभ्mन सकिन्छ । आप्mना भाइ सुरप्रतापले विशाल नेपाल निर्माणका लागि आप्mनो धेरै रगत पसिना गुमेको बताउँदै एक दिन पृथ्वीनारायणसँग राज्य बाँडेर लिने प्रस्ताव राख्दा समेत उनी राज्य भन्ने कुरा भागबन्डा गरेर दिने लिने विषय नभएको उल्लेख गर्दै अखण्ड नेपालको पक्षमा उभिए ।

त्यस्तै यक्ष मल्लले पनि आप्mना सम्पूर्ण भाइ भरदारलाई राज्य बाँडेर लिने प्रस्ताव राख्दा पृथ्वी नारायण शाहले आफ्नो सम्पूर्ण समय राज्य एकीकरणकै लागि खर्चिनुपरेको वास्तविकता बताएर चित्त बुझाउने काम गरेका थिए । यसबाट पनि उनको दूरदर्शिता प्रस्ट रूपमा झल्कन्छ । अहिलेका राजनीतिक दलहरूले पनि यस्तै दूरदर्शी विचार लिएर अगाडि बढ्ने समय आएको छ । आप्mनो ऐतिहासिक धरातललाई भुलेका कारण अहिले जातीय र क्षेत्रीय पहिचानसहितको सङ््घीयता माग भइरहेका छन् । यीनै मागका कारण सरकार संविधान शंसोधन गरी माग संवोधन गर्ने पक्षमा पुगेको छ भने प्रतिपक्षी दल र सत्तारुढ दलका नेता कार्यकर्ता समेत त्यसको विरोधमा उत्रिएर सडक र सदन दुवै ठप्प पार्ने काम गरिरहेका छन् ।
अतः पृथ्वीनारायण शाहको राष्ट्रिय एकतालाई अहिलेका नेताहरूको सङ्घीयताको मागले खलबल्याइरहेको छ । मुलुक सङ्घीयतामा गइसकेको भए पनि यसबाट उत्पन्न समस्या समाधान हुन सकेको छैन । देशलाई सङ्घीयतामा लैजानुको पछाडि पुस्तौ पुस्तादेखिको असमावेशी राज्य व्यवस्थाले भूमिका खेलेको छ ।  राज्य एकीकरण भएदेखि नै समावेशी अवधारणको विकास भएको पाइन्छ । पृथ्वीनारयण शाहले पनि सेनामा ब्राम्हण, क्षेत्री, मगर, नेवार लगायत सबै जाति र जनजातिलाई समेटेका थिए । तर त्यो व्यवस्थालाई विस्तार गरेर निरन्तरता दिन नसक्दा नेपालमा जाति र क्षेत्रगत विभेदका मुद्दाहरू चुलिँदै अहिलेको अवस्था सिर्जना भएको हो । समावेशिताका नाममा ल्याइएको सङ्घीयताको अवधारणाले अब देश विखण्डन गर्छ भन्नेहरूदेखि सङ्घीयताले देश विकास र नागरिकको लागि महत्वपूर्ण काम गर्न सक्छ भन्नेहरू पनि यहीँ छन् । यीनै दोधारका बीचमा अहिले नेपाल गुज्रिरहेको छ ।

नयाँ संविधानलाई कार्यान्वयन गर्नुभन्दा पनि सङ्घीयताबाट उब्जिएको समस्या समाधान गर्नमै सरकार र राजनीतिक दलहरू लागिरहेका छन् । अझ पनि राष्ट्रिय स्वाधीनता र एकतालाई मध्यनजर गर्दै सङ्घीय गणतन्त्रलाई संस्थागत विकास गर्ने हो भने मुलुकले नयाँ दिशातर्फ फड्को मार्न सक्छ । अहिले त सङ्घीयतालाई गलत रुपमा व्याख्या गरी कार्यान्वयन गर्न खोज्दा विवाद उत्पन्न हुन गएको हो । त्यसैले नेपाली जनतामा राष्ट्र प्रेमको भावना जगाइ स्वाधीनताको रक्षा गर्नका लागि राष्ट्रिय एकता दिवस मनाउँदा नै सच्चा देशभक्त नेपालीहरुको शिर ठाडो हुने छ भन्ने कुरालाई आत्मसात गर्ने र गराउने वातावरण सृजना गर्नु आजको आवश्यकता भएको छ । साथै सङ्घीय प्रदेशबाट उब्जिएको सीमाङ्कन, नामाङ्कनका साथै हिमाल, पहाड र तरार्ईका जनताको अधिकार बाँडफाँडका विषयमा गरिएको निर्णयले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको मर्म र भावना विपरीत परिणाम ननिम्त्याओस् भन्ने आम नेपालीहरूको चाहना रहेको छ ।


Published On:  1298पटक हेरिएको

तपाईको प्रतिक्रिया