पिलिज सरकार म विदेशिन चाहन्न, मलाई रोक

बाबुराम तिमिल्सिना । आज पनि उस्तै याद छ मलाई । अपरान्हको समय थियो त्यतिबेला म खेतको ठूलो गराको कान्लामा घाँस काट्दै थिए । म जम्मा १३ मात्र बर्षको थिए । त्यतिबेला राजतन्त्र विरूद्धको आन्दोलन चर्किरहेको थियो । मेरो घर पोखराको केन्द्रबाट ७/८ किलोमिटर भित्र सराङ्कोटमा पर्छ । मेरो घर नजिकै एउटा सानो–सानो भीर छ । अनि त्यहाँ हिड्ने गोरेटो र  एउटा चौतारो पनि छ । जसलाई हामी ओढारेको चौतारो भन्छौ । त्यहाँबाट पोखराको लेकसाइड बजार र फेवाताल पुरै देखिन्छ । म सानै भएपनि त्यतिबेला समाचार सुन्न खुब रूची राख्थे । मलाई समसामयिक राजनीतिक घटना पनि थाहा हुन्थ्यो । त्यही उमेरमा पनि म अलि–अलि जानेकै भरमा आफूभन्दा ठूला दाइहरूसँग राजनीतिक बहस गर्थे । भैगो यो कुरा छाडदिउँ ।

आन्दोलन चर्किरहँदा तत्कालीन राजा ज्ञानेन्द्र शाह पोखराको लेकसाइडमा आएका छन् भन्ने खबर  थियो । त्यही खबर पाएर होला मेरा गाउँका दाइहरू मेरो घर नजिकैको ओढारेको चौतारामा आएर राजतन्त्र विरूद्धका चर्का नारा घन्काएका थिए । भनिन्थ्यो ओढारेको चौतारबाट चिच्यायको लेकसाइडमा पनि सुनिन्छ । खै त्यो मलाई थाहा छ्रैन । तर भन त अहिलेपनि त्यसै भन्छन् । बनढुङ्गामा कसैका भैसी गोरूले धानको विऊ वा बाली खादा त्यही चौतारोबाट बोलाएर धपाउन लगाएको त मैले पनि प्रत्यक्ष थाहा पाएको थिए । खै लेकसाइड सम्म सुनिन्छ कि सुनिदैन त्यो त मैले मेसो पाउन सकिन । ती शिव दाइ खुब मज्जाका मान्छे थिए । मलाई माया पनि उतिकै गर्थे । ती गहतेडाँडा बाबुका छोरा हुन्, उनको बुबाको नाम त्रिलोचन भएपनि सबैले उनका बुबालाई गतडाँडा बाबु–बाबु भन्छन् । मलाई शिब दाई अरू भन्दा परिवर्तनकारी र जुजारू लाग्थ्यो । गलत कुराको विरोध गर्न च्यापै डराउँनथे । हक्की स्वाभवका थिए । त्यो ओडारेको चौताराबाट राजतन्त्र विरूद्धका चर्का नारा घन्काउनेको नेतृत्व गर्ने पनि हुनै थिए । दाइहरूको त्यो विरोध लेकसाइडमा बसेका ज्ञानेन्द्रले सुनेकी सुनेन् तर राजतन्त्रको विरोध त उनीहरूले ठूलै स्वरले गरेका थिए । शिव दाइहरूले आगो बालेर पुत्ला समेत जलाए । म खेतमा घाँस काट्दै गरेको फुच्चे केटा दाइहरूको त्यो विरोध देखेर मेरा पनि रौं ठाडा भए ।

त्यही उमेरमा पनि राष्ट्रियताले खुब छुन्थ्यो । राष्ट्र भावले भरिएका गीत र भावना सुन्दा मेरा रौ जहिलेसुकै ठाडा ठाडा हुन्थे । विरालो डराउँदा घाँटीका रौं जसरी फुल्छन् त्यसैगरी राष्ट्रियतामा बग्दा मेरा पनि रौ त्यसरी ठाडा हुन्छन् । खै भित्र त्यस्तो अदृश्य शत्ति त के छ मलाई पनि त्यती राम्रोसँग थाहा छैन । तर अहिले पनि मलाई त्यस्तो हुन्छ । नेपाल आमा भएर होला । आमाको मायामा मेरा रौ ठाडा हुने गरेका होलान् । सायद अरूलाई पनि यस्तो हुन्छ होला । मलाई त घाँस काट्नै मन लागेन । घरमा गएर दाइहरूको त्यो विरोध नजिकबाट हेर्न मन लाग्यो । घाँस काट्ने कुरामा म कहिल्यै पनि इमान्दार थिइ्न । डोकोमा घाँसको करालो पारेर, डोको भरी जस्तो बनाएर घरतिर कुदिहाल्थे । झन् त्यो दिन त मलाई घाँस काट्ने मनै भएन । त्यसपछि फेरी मैले मेरो कराले मेथोड यूज गरेर डोको भरे जस्तो गरेर घरतिर कुदे । बुबालाई यो कुरा थाहा थियो । मलै डोको नभरी आउछु भन्ने कुरा । त्यसैले कहिलेकाँही बुबाले मेरो डोको खादेर आधा बनाइदिन्थे । अनि गल्ती आफ्नै केही कुरा बोल्ने ठाउँ हुन्थेन । फेरी बुढा रिटाएर प्रहरी । मान्छे पनि उस्तै कडा थिए । खुब डर देखाउँथे । कहिलेकाँही त पिटाइ पनि खाइयो । कसो त्यो दिन चाँहि म बाँचे । बुढा घरमै रहेनछन् ।

दिनभरी अरूले काटेको घाँसको थुप्रोमा लगेर मैले काटेको घाँस मिसाइ दिए । त्यसपछि अरूलाई के थाहा । म घरको आगँनको डिलमा आइपुगे र दाइहरूले गरेको विरोधलाई निकै रोचका साथ हेरे । दाइहरूको त्यो विरोधमा मेरो पनि साथ थियो जबकि म त्यहा नभएपनि । राजा ज्ञानेन्द्रले सञ्चारमा ताला लगाउन खोजेको मलाई रामैसँग थाहा थियो । गाउँमा अलि अलि भएका मोवाइल र कर्लिसका सेटहरू पनि पहिल्यै नै आर्मी आएर लगिसकेका थिए । रेडियोहरूमा पनि समाचार प्रशारणमा रोक लगाइएको थियो । यस्तै यस्तै कुराले मलाई पनि राजाको निरङ्कुशता विरोधी बनाएको थियो । दाइहरूको विरोध चदिरहँदा फेरी घर मुनिको बाटोबाट काउलेतिरबाट सयौंको संख्यामा मानिसहरू राजतन्त्रको विरोधमा नारा लगाउँदै आए । त्यसपछि मेरा ठाडा भइकन सुतिससेका रौ फेरी जाग्न थाले ।

त्यो आन्दोलनको ११ औं दिन थियो । पिँडीको डिलमा बस्नु भएकी मेरी आमा भन्दै हुनुहुन्थ्यो यति भइसकेपछि अब ज्ञानेले छिट्टै छोड्छ होला, आन्दोलन कति लामो जाला र ? अनि अरू अरूले पनि यस्तै भन्दै थिए । त्यो दिन म निकै खुसी थिए । मेलै त्यो दिनको रातिसम्म धरै कुरा सोचे । अब मेरो देश बन्छ होला । म ठूलो भइसक्दा त देशमा रोजगार पाइन्छ होला । विसशित देशका नागरिकको जस्तै शान हाम्रो पनि बन्छ होला । हामी त कस्तो भाग्यमानी, मैले सोचे । अब हामी दुख गर्न विदेश जानु पर्दैन होला । मैले त्यो पनि सोचे अब हाम्रा रगत र पसिना यहि देशमा बग्छन् होला । देशले फड्को मार्छ होला, यस्तै यस्तै धेरै सोचे । नभन्दै १९ दिनको आन्दोलन पछि राजतन्त्र ढलि छाड्यो । झ्न आन्दोलन सफल हुँदाको दिन त म यति खुसी भएकी, मानौ बर्षौ पछि भेटीएका सच्चा प्रेमी प्रेमिका जस्तो बने । मेरो त खुसीको सीमै थिएन । त्यो दिन त म जस्ता लाखौं लाख नेपाली खुसी भएका थिए होलान् ।

राजतन्त्र हटेर गणतन्त्र स्थापना भएको पनि आज ११ बर्ष वितिसक्यो । यतिका समय वित्तिसक्दा मेलै देखेको एउटा परिवर्तन तन्त्रमा राज हटेर गण जोडिएको छ । अरू परिवर्तन उस्ताको उस्तै देख्छु । ती मेरा जुजारू शिव दाइ विदेशिएको पनि बर्षौ भइसक्यो । फेरी उनले नपढेका पनि थिएनन् नी । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमै स्नातकोत्तर गरेका थिए । स्नातकोत्तर गर्दै गर्दा पनि शिव दाइ भन्दै थिए, भाइ यतै केही राम्रो जागिर पाइत त यही केही गर्ने हो । तर हेर्दा हेर्दै शिव विद्यार्थी भिसामा यूरोप छिरे । शिव दाइ राम्रै पढेका थिए र विद्यार्थी भिसामा यूरोप जाने हैसियत राखे तर आज मेरो देशका हजौरौ दाजुभाई दिदीबहीनी गुजारा चलाउन र परिवार पाल्न कै लागि खाडीका मुलुक छिर्नु परेको छ । आफ्नो माटो छोडेर अरूको देशमा रगत पसिना बगाउनु परेको छ । कति युवाले त काम गर्दा गदै ज्यान गुमाएका छन् ।

समस्या यति विकारल छ कि पैसा कमाउन गएको मान्छेको ल्यास बाकसमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्छ । मानेपनि नमानेपनि यो ११ बर्षमा भएको एउटै उपलब्धि भनेको संविधान सभाबाट जारी भएको संविधान हो । दिनहँु सयौको संख्यामा युवा विदेश पलायन भइरहेका छन् । तर कसैलाई यसको वास्ता छैन । म सँगै खाए खेलेका धेरै साथी अहिले विदेशमा छन् । कोही खाडीमा कोही कतै । सुनेको छु नेपालमा ६० प्रतिशत जनसङ्ख्या युवाको छ रे । मलाई पनि छ होला जस्तो लाग्छ तर खै देश विकासमा युवाको परिचालन ? सरकार जवाफ देउ । सँगै खाए खेलेका धरै साथी विदेशी गई सकेकाले हिजो आज म एक्लै जस्तो भएको छु । ऊ पनि विदेश, त्यो पनि विदेश । राम पनि विदेश अनि श्याम पनि विदेश । देशमा अब निकै परिवर्तन आउँला भनेर ठानेको म हिजो आज जिल्ल परेको छु । कति साथी प्लस टु सकेर कोरिया गए, कति खाडीका मुलुक । अलिकति पैसा र पढाइ दुवै भएका साथी यूरोप अमेरिका तिर छिरे । हिजो आज मेरा कति साथी धनाढ्य भइसके । म चाहिँ देशमा केही गरौंला भन्ने सोचिरहँे । आफ्नो पढाइलाई रोकिन । अहिले पत्रकारितामै स्नातकोत्तर गर्दै छु । तर हिजो आज डर लागिरहेछ ।

आजसम्म पनि खर्च सापटी र यतात्यता गरेरै चलिरहेको छ । खर्च त यता उता मागेर गरेको छु, भनेसी बचत हुने त कुरै भएन । कोरिया गएका साथी त आएर फ्याटै विहे गरेर गइहाल्छन्, उनीहरूले श्रीमतीलाई लगाउने गहना, विहे खर्च त सजिलै कमाउँदा रहेछन् की क्या हो ।  टन्नइ गहना लगाएर विहे गरेको देख्छु, खाडी जानेले पनि त जेनतेन घर चलाएकै छन् अनि यूरोप छिरेका साथीले पनि समुन्द्र किनारामा बसेर खुसी साथ फोटो हालेको देखेको छु । तर मेरो त घर बुबा आमाको कमाईले चलेको छ, यो उमेरसम्म  । त्यसैले म सोच्छु हिजोआज देश नछाडेर कतै मैले कतै गल्ती त गरिन्न ? पढाइका सिर्टिफिकेट मेरा बासकमा थन्किएका छन् र अझैपनि त्यही थन्क्याउने सर्टिफिकेटको लागि म कुदिरहेछु । सोच्छु म विदेश गएको भए, अलिकति पैसा कमाउन सक्थे होला । ढुक्कले श्रीमतीलाई गहना किनदिने र विहे गर्ने खर्च हुन्थ्यो होला । हामी जस्ता भुक्काहरूको त सामान्य विहे गर्न सक्ने आर्थिक हैयियत सम्म नी छैन । फेरी मान्छेहरू सोच्लान् विहे गर्न पैसा नै खर्च गर्नुपर्छ र ? तर नगरी पनि त हुन्न नी, हैन र ?

खै यो सर्टिफिकेटले अहिलेसम्म देशमा ठाउँ पाउन सक्या हैन । जे कुरा किन्दा नी पैसा चाहिने । अनि त्यो पैसा कहाँबाट कमाउने ? खै देशमा रोजगार ? देशमा उद्योग बढलान् भन्दा झन् घट्दो अवस्थामा छन् । सरकारी नोकरी पनि अति न्यून र सिमित छ, यस्तो अवस्थामा म जस्तो युवाले के गर्ने सरकार ? बाटो देखाइदेउ । साथीसँगै विदेशिएको भए नी केही हुन्थ्यो होला तर विदेशीन सकिन । अब त झन् मास्टर्स डिग्रीको सर्टिफिकेट बाकसमा थन्क्यायर विदेशिन मन छैन । पिलिज म स्वदेशमै यही केही गर्न चाहन्छु सरकार मलाई रोक । अनि म जस्ता हजारौ युवा पनि । त्यसैले बाटो देखाइदेउ सरकार । हामी युवा देश छोडेर विदेशीन चाहन्नौ । १० बर्ष संविधान बनाउन लगाउने अनि अर्को १० बर्ष त्यसको कार्यान्वयन गर्न लाग्ने हो भने हाम्रो भविष्य चौपट हुन्छ सरकार । त्यसैले अझैपनि समय छ युवाको नाममा केही सोचिदेऊ । हैन भने देशमा परिवर्तन होला भनेर सपना देख्ने म जस्ता हजारौ युवाको सपना बेकार हुनेछ ।

तपाईको प्रतिक्रिया