बर्दिया । राष्ट्रिय प्राकृतिक संरक्षण कोष (एनटिएनसि) को बर्दिया संरक्षण कार्यालयमा दुई साता देखि तालाबन्दी भएपछि बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षण कार्यक्रम प्रभावित भएको छ । राष्ट्रिय प्राकृतिक संरक्षण कोषको बर्दिया संरक्षण कार्यालयसंग स्थानीय चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरुले आर्थिक पारदर्शिताको माग सुनुवाई नभएको भन्दै संरक्षण कार्यालयमा गत मंसिर २६ गतेदेखी तालाबन्दी गरेका हुन् । संरक्षण कोषले संरक्षणका कार्यक्रमहरु मनोमानी ढंगले संचालन गरी भ्रष्टाचार गरेको भन्दै संरक्षण कार्यक्रमबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने समुदाय आक्रोषित भएका छन् ।
युवाहरुको आर्थिक पारदर्शिताको लिखित माग एक साता वित्दा समेत सम्बोधन नगरेको भन्दै आक्रोषित युवाहरुले दुई साता देखि गरेको तालाबन्दीका कारण ‘संरक्षण कार्यक्रम’ पूर्ण रुपमा प्रभावित बनेको छ । यतिबेला बर्दिया निकुञ्जमा बाघको अनुगमन जारी छ । बाघ अनुगमनमा प्राविधिक सहयोग गरेको कोषको कार्यालयमा तालाबन्दी भएपछि संरक्षणका अन्य कार्यक्रमहरुसंगै बाघ अनुगमन समेत प्रभावित भएको छ ।