रेल वेको खाका बनाउन विकास समितिबाट सरकारलाई निर्देशन

काठमाडौं–व्यवस्थापिका संसद अन्र्तगतको विकास समितिले रेलवे परियोजना सम्बन्धि गुरुयोजना तयार पारी काम सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।  समितिको विहीबार बसेको बैठकले पूर्व पश्चिम, उत्तर दक्षिण र काठमाडौं उपत्यकामा सञ्चालन हुने मेट्रो रेलवे समेतको विस्तृत गुरु योजना बनाएर यसै आर्थिक वर्षभित्र काम शुरु गर्न भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको हो । जनकपुर–जयनगर रेलवे यसै आर्थिक वर्षमा सञ्चालन गर्नेगरी काम अघि बढाउन पनि निर्देशन दिइएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले काठमाडौं उपत्यका मेट्रो रेलवे सञ्चालनको पूर्वाधार निर्माण यसै आर्थिक वर्षमा शुरु हुने बताउनुभयो । उहाँले रेलवे निर्माणका लागि डिपीआर तयार गरेर निर्माण प्रक्रिया अघि बढाउन सरकारले प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । मन्त्री लेखकले मन्त्रिपरिषदमै छलफल गरेर विकास निर्माणका लागि आवश्यक कच्च पदार्थको अभाव हुन नदिन सरकारले प्रतिवद्धता जनाएको पनि जानकारी दिनुभयो ।

रेल विभागका महानिर्देशक अनन्त आचार्यले चिन र भारतमा प्रयोगमा आएका भन्दा अत्याधुनिक प्रविधिको रेलवे सेवा निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले विकासको गति र प्रविधिको विकासलाई उच्चतम रुपमा उपयोग गरेर रेलवे निर्माणको गुरुयोजना तयार पार्नुपर्ने धारणा राख्नुभयो । महानिर्देशक आचार्यले केही ढिलो भएपनि आधुनिक प्रविधिको सुविधासम्पन्न रेलवे सेवा निर्माण गर्नुको विकल्प नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया