पुण्यप्रसाद धमला काठमाडौं–मंसिर । स्वदेशमा काम पाइएन भन्दै विदेशीने युवाहरुका लागि एउटा गतिलो उदाहरणका पात्र हुन् – धादिङ मैदीका सन्तोष बस्नेत ।
सन् २०१३ तिर गाउँकै साना किसान कृषि सहकारी संस्थाबाट कृषि सम्बन्धी तालीम लिनलाई इजराइल पुग्नुभएका बस्नेत ११ महिनाको प्राविधीक कृषि तालिम पश्चात स्वदेश फर्किएर कृषी उद्यमी बन्नु्भएको छ । इजराइलबाट नेपाल फर्कीनासाथ आफनै गाउँमा कुखुरा फर्म खोलेर राम्रो आए आर्जन गरेका सन्तोषको कुखुरा पालन नै परिचय बनेको छ । उहाँ अहिले दिनहुँजसो कुखुरा र टमाटरको स्याहारमा खटिनुहुन्छ । निरन्तरको मेहनत र श्रम प्रतिको सम्मानले राम्रो प्रतिफल पाउन सकिने बुझाई युवा उद्यमी बस्नेतको छ । बस्नेत भन्नुहुन्छ–इजराइलको मरुभुमीमा भइरहेका चमत्कारी कृषि व्यवसायले नेपालमा गएर केही गर्नुपर्छ भन्ने जोस र जाँगर पलाएपछि नेपाल आएर यहि पेशालाई रोजे ।
बस्नेत इजराईलबाट फर्के लगतै आधुनिक कुखुराको खोर निर्माण गरी १ हजार जती अण्डा दिने लेर्यस कुखुरा पाल्न सुरु गरेको बताउँनुहुन्छ । उहाँले शुरुमा लगानी धेरै गर्नु पर्दा समस्या भएपनि पछि क्रमश कुखुराले अण्डा दिन शुरु गरेसँगै आम्दानीको स्रोत बढ्दा आनन्द अनुभुति भएको बताउनुभयो । बजार भाउ राम्रो हुने हो र कुखुरालाई रोग नलाग्ने हो भने कुखुरा पालनबाट मनग्य आम्दानी गर्न सकिने बस्नेतको अनुभव छ । अहिले सन्तोषका खोरमा २ हजार वटा लियर्स कुखुरा छन् ।
कुखुरा पालन, टमाटर खेतीका साथ साथै थोपा सिँचाईको काममा पनि बस्ने सक्रिय रहनुभएको छ । धादिङ बेसीमा रहेको सिद्धबाबा सप्लायर्स प्रालिबाट आधुनिक कृषी तालिम परामर्श दिने काममा समेत सक्रिय युवा उद्यमी बस्नेत सबै कृषकलाई आधुनिक कृषीमा लाग्न प्रेरित गर्ने अभियानमा हुनुहुन्छ । जिल्ला भरी नै थोपा सिँचाई सम्बन्धीका सामाग्रीहरु उपलब्ध गराउँदै आउनुभएका सन्तोष आधुनिक कुर्षी व्यवसायका लागि थोपा सिँचाइ अत्यन्त महत्वपुर्ण हुँने बताउनुहुन्छ । थोपा सिँचाइबाट काम र लागतको धेरै बचत हुने अनुभव उहाँसँग छ ।
तर ग्रामिण भेगको कृषि व्यवसाय सोचेजस्तो सजिलो भने छैन । यातायातको मुख्य पुर्वाधार बाटो अभावका कारण कुखुराको दाना ढुवानी, उत्पादीत बस्तुको निकासी पैठारीमा समस्या भोग्नुपर्ने समस्या बिद्यमान रहेको गुनासो बस्नेत गर्नुहुन्छ । बाटो नहुँदा व्यहोर्नुपर्ने समस्या त छदैछ, बाटो कच्ची भएका कारण समेत कुखुराको दाना ढुवानीमा बढी समय लाग्ने र खर्चिलो हुदै आएको अनुभव उहाँ सुनाउनुहुन्छ । बर्खाको समयमा गाडी नचल्दा उत्पादन भएका अण्डालाई बजारसम्म लग्न गाह्रो भएको दु:खेसो बस्नेतको छ ।
अहिले वार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएका बस्नेतसँग कुखुरा पालन लगायत अरु थुप्रै कृषि सम्बन्धी तालीमहरुको ज्ञान छ । उहाँ निकट भविष्यमै आधुनिक गोलभेडा खेती गर्ने योजनामा रहेको बताउनुहुन्छ । गोलभेँडा खेती गर्नको लागि टनेल बनाउने काम सकिएर र छिट्टै बाँकी काम सुरु हुने उहाँ बताउनुहुन्छ । धादिङको मैदी निवासी बस्नेत परिवारकै एक्ला छोरा हुनुहुन्छ । दुई बैनीका जेठो दाइका रुपमा रहनुभएका बस्नेत घरको जेठो बाठो भएका कारण ठूलै जिम्मेवारी बहन गर्नुपरेको बताउनुहुन्छ । आफुले विदेशमा सिकेको कुरा अरुलाई पनि सिकाउँदै आउनुभएका बस्नेत युवा पुस्ताकै एक उदाहरणीय कृषक भएको मैदीबासीको बुझाई छ ।
श्रम गर्ने सके देशकै माटोमा रोजगारी मिल्ने र अवसर प्राप्त हुन्छ भन्ने मान्यता राख्ने बस्नेत राज्यले किसानको पक्षमा चाहीने जति सहयोग नगरेको गुनासो गर्नुहुन्छ । सरकारी कर्मचारीको बर्षेनी तलब बृद्धि भइरहदा किसानलाई अनुदान दिन सरकारले किन गाह्रो मान्छ ? बस्नेत प्रश्न गर्नुहुन्छ । सरकारले अनुदान बढाएमा युवाहरुलाई कृषिमा आकर्षित गर्न सकिने र विदेशिने क्रम रोकीने विश्वास उहाँको छ ।
आफ्नो जीवनकाल भरिनै कृषि पेशालाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्ने बस्नेत हामी किसानको सम्मान कहिले हुने ? प्रतिप्रश्न गर्नुहुन्छ । तर समस्या छन भन्दैमा पलायन हुने प्रवृत्तिले देशको विकास र समृद्धि नहुने बुझाइ उहाँमा छ । अन्तमा युवा उद्यमी बस्नेत भन्नुहुन्छ,– खाडी र विदेशको श्रममा मात्र होइन जोश र जाँगर भए गाँउकै माटोमा सुन फलाउन सकिन्छ ।