काठमाडौं– कार्तिक । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पछिल्लो समय बाग्मती नदी सफाईका लागि विभिन्न योजनाहरू चलाइरहेको छ । तर सम्बन्धित निकायसँग राम्रो समन्वय नहुँदा र काठमाडौंवासी नदी सफाईमा जिम्मेवार नबन्दा बाग्मती नदी दिगो रुपमा प्रदूषणरहित हुनेमा आशंका देखिएको छ । पछिल्लो समय बाग्मती नदी सफाईमा केही सकरात्मक कामहरू भएका छन् ।
बाग्मती नदी सफाई र संरक्षणको मुख्य जिम्मा पाएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पछिल्लो समय बाग्मतीलाई प्रदूषण रहित बनाउने योजना अनुरूप बाग्मती र यससँग जोडिएका ७ वटा सहायक नदीमा ढलका पाइपहरू विछ्याई सडक बनाउने काम गरीरहेको छ । समितिले अहिले ढल निर्माण गर्ने, नदी नियन्त्रण गरी धार परिवर्तन गर्ने, बाटो निर्माण गर्ने र हरियाली विस्तार गर्ने लगायतका कार्यहरू गरिरहेको बताएको छ । समितिको योजना अनुरूप अहिले नदी छेउको ४१ दशमलभ ६७ किलोमिटरमा सडकमा ढल विस्तार, ११ किलोमिटर सडक निर्माण, २२ दशमलभ ९४ किलोमिटरमा नदि नियन्त्रण गर्ने काम गरिरहेको छ ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले लिएको योजना पूरा भए बाग्मती र नदी र यससँग जोडिएका नदी प्रदूषणमुक्त बन्ने छन् । तर योजना आफ्नो हिसाबले अघि बढिरहेपनि सम्बन्धित निकायसँग आवश्यक समन्वय नहुँदा र काठमाडौवासी पनि बाग्मती सफाईमा जिम्मेवार नहँुदा नदी दिगो रुपमा प्रदूषण रहित बन्छ भन्नेमा आशंका छ ।
अहिले एडिवीको ५ अर्व रूपैयाँको सहयोगमा बाग्मती सुधार योजना अघि बढिरहेको छ भने हरियाली कायम र पार्क निर्माणको लागि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले २४ वटा संघ संस्थालाई ठाउँ तोकेर अनुमति दिएको छ ।