विकास बजेट खर्च नभएपछि अर्थमन्त्री आँफै अनुगमनमा

काठमाडौं–कार्तिक । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले विकास बजेट खर्च हुन हुन नसकेकोमा चासो राख्दै अनुगमन सुरु गर्नुभएको छ । पहिलो चौमास सकिनै लाग्दा कुल बजेटको १३ दशमलव ८१ प्रतिशत खर्च भएकोमा विकास खर्च ४ प्रतिशत मात्र भएपछि मन्त्री महराले सक्रियता बढाउनुभएको हो । विकास बजेट खर्च नहुने परम्परा दोहोरिएको भन्दै अर्थमन्त्री महराले विभिन्न मन्त्रालयका सचिव र विकास खर्च गर्ने विभागका प्रमुखहरुलाई बोलाएर छलफल समेत थाल्नुभएको छ । mahara

मंगलबार उर्जा मन्त्रालयका अनुप उपाध्यायसहितका उच्च अधिकारीसँग खर्च अवस्थाबारे जानकारी लिनुभएका मन्त्री महराले प्रथम चौमासिक सकिन करिब एक हप्ता बाँकी रहँदा उर्जा मन्त्रालयले छुट्टाइएको कुल बजेटको जम्मा १.३५ प्रतिशत मात्रै खर्च भएकोमा चासो व्यक्त गर्नुभएको थियो । पूँजीगत खर्चतर्फ बजेट कम भएको भन्दै मन्त्री महराले खर्च नहुनु बिडम्बना भएको बताउनुभयो । मन्त्री महराले बिकास खर्चमा भएका समस्या हल गर्न तयार रहेको भन्दै योजना आयोग वा अन्तै केही कुराले काम रोकिएको भए मिलाउने बताउनुभएको थियो ।

थप बजेटका लागि समेत आवश्यक पर्ने सबै व्यवस्था मन्त्रालयले मिलाउने भन्दै उहाँले तत्काल प्रभावकारी काम थाल्न सरोकारवालालाई निर्देशन दिनुभएको थियो । छलफलमा उर्जा सचिवले योजना आयोगमा पठाएका ३८ वटा मध्ये २३ वटा मात्र कार्यक्रम स्विकृत भएको जानकारी गराउनुभएको थियो । कार्याक्रममा योजना आयोगका सदस्य डा. अरबिन्दकुमार मिश्रले बाँकी एक सय ६२ वटा आयोजना एक हप्ताभित्र स्विकृत गर्ने आश्वसन दिनुभएको थियो । अर्थमन्त्री महराले हरेक महिना प्रत्येक मन्त्रालयले खर्चको फाँटवारी अर्थ मन्त्रालयमा पेश गर्न निर्देशन पनि दिनुभएको छ ।

तपाईको प्रतिक्रिया