यस्तो छ भारतीय राष्ट्रपतिको नेपाल तालिका

काठमाडौं–कार्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी आउँदो १७ गते विशेष विमानबाट नेपाल आउनुहुनेछ । सोही दिन राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । शीतल निवासमै भारतीय राष्ट्रपतिको सम्मानमा  राष्ट्रपतिले दिवाभोज गर्नुहुनेभएको छ । pranab-mukherjee-is-the-current-president-of-india

उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारतीय राष्ट्रपति मुखर्जीसँग छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति आएकै दिन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपतिको सम्मानमा भोजको आयोजना गर्नुहुनेभएको छ ।

भारतीय राष्ट्रपति १७ गते सांझ नै नेपालका लागि भारतीय राजदूत रणजित रायले राष्ट्रपतिको सम्मानमा गर्नुहुने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ । कात्तिक १८ बिहान मुखर्जीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उहां काठमाडौं विश्वविद्यालयले दिन लागेको मानार्थ विद्यावारिधिमा सहभागी हुनुहुनेछ । उहांले  सोही दिन नीति अनुसन्धान प्रतिष्ठान र भारत फाउन्डेसनले आयोजना गर्ने सेमिनारमा सम्बोधन गर्ने कार्यक्रम छ ।

दलका नेताहरूसंगको भेटवार्ता पनि सोही दिन हुने भएको छ । भ्रमणको तेस्रो दिन कात्तिक १९ मा बिहान मुखर्जी जनकपुर प्रस्थान गर्नुहुनेभएको छ । जनकपुरमा उहांले जानकी मन्दिरमा पूजा गर्नुहुनेभएको छ । पूजापछि उहाँको सम्मानमा गरिने कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यहांबाट उहाँ पोखरा जानुहुनेछ । र पोखराबाट काठमाडौं फर्केपछि १९ गते बेलुकी भारत फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया