काठमाडौं–कार्तिक २ । सम्झौता भएको १२ बर्ष भन्दा बढि भएपनि अझै हुलाकी राजमार्गको कामले गति लिन सकेको छैन । समझदारी भएको झन्डै १३ वर्षसम्म काम नगरेर नेपाललाई जिम्मा लगाएको भारतसँग सरकारले हुलाकी राजमार्गको दोस्रो चरणको काम गर्न सहयोग माग्ने तयारी थालेको छ । स्वदेशी स्रोतमा निर्माण गर्न सकिने विषयमा छलफल नै नगरी सरकारले भारतको मुख ताकेको हो ।
भारतले अनुदानमा निर्माण गरिदिने भनेको करिब १ हजार ७ सय किलोमिटरमध्ये १३ वर्षमा मुस्किलले सय किलोमिटर काम मात्र निर्माण भएको छ । पहिलो चरणको करिब साढे ६ सय किलोमिटर सडक निर्माणमा संलग्न ठेकेदार भागेपछि भारतले सबै कामको जिम्मा नेपाललाई सुम्पेको थियो । यो काम गर्न अहिले ठेक्का प्रक्रिया सुरु गरेको हुलाकी राजमार्ग आयोजनाले बताएको छ ।