दशैका लागि टिकट बुकिङ् खुल्ला

काठमाडौं–असोज ८ । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुको लागि शुक्रबारबाट बसको टिकट बुकिङ खुल्ला गरिएको छ । दशैंका लागि लामो दुरीमा जाने यात्रुहरुका लागि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको पहलमा टिकट वुकिङ खुल्ला भएको हो ।

तर पोखरालगायत नजिकका जिल्लाका लागि भने केही दिनपछि मात्र अग्रिम टिकट बुकिङ खुल्नेछ । दशैं मान्न घर जान चाहने यात्रुहरुले आजबाट नयाँबसपार्क, कलंकी, चाविहल, गौशाला, तिनकुने लगायतका स्थानबाट टिकट बुकिङ गर्न सक्नेछन् । टिकट बुकिङ खुल्ला भएको पहिलो दिनमै टिकट काट्ने स्थानहरुमा यात्रुहरुको भिड लागेको छ ।

यात्रुहरुलाई जानकारी र सहयोगका लागि आजै देखि राजधानीको कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, र लगनखेलमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ । चाडपर्वको समयमा यात्रु ठगिने सम्भावना भएकाले यात्रु सहायता कक्ष स्थापना गरिएको हो । बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रु सहायता कक्षमा उजुरी गर्न सकिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया