असोज । परापूर्वकालमा नेपाली समाजमा गीत संगीतका माध्यमवाट सुचना आदान प्रदान गर्ने एक मात्र माध्यम थियो सारंगी । नेपाली परम्परागत बाजा सारंगीलाई सुख, दुखको साथी पनि मान्न सकिन्छ । तर पछिल्लो समय यो बाजाको संरक्षण गर्न नसक्दा लोप हुने क्रममा छ । सबै जाती र समुदायका आ–आफ्नै मौलिक बाजा भए जस्तै सारंगी गन्धर्व समुदायको बाजा हो ।
यद्यपी सारंगी सम्पूर्ण नेपालीहरुको मन पर्ने बाजा हो । मिठो धुनको माध्यमबाट दुनियाँको मन लोभ्याउन सफल यो बाजालाई हेयको दृष्टीले हेर्ने संकिर्णता पनि नेपाली समाजमा व्याप्त छ । नेपाली मौलिकताको संरक्षण गर्नु पर्छ भन्ने चेतनाका अभावका कारण पनि लोकप्रीय बाजा सारंगी विविध रुपमा संकटमा परेको छ । विदेशी संस्कृतिको अतिक्रमणका कारण पनि सारंगीको संरक्षण र सम्मानमा कमी आएको छ । खासगरि यो रोग नयाँ पुस्तामा बढी देखिन्छ ।
तर पनि लोकबाजा सारंगीको संरक्षणका लागि युवा पुस्ताबाटै पहल हुन जरुरी छ । कोही न कोहीले त यसका लागि जमर्को गर्नैपर्छ । लोक गीतमा सारंगी नहुँदा नून बिनाको तरकारी सरह हुन्छ । अर्थात लोक गीत संगीतमा सारंगीको धुन प्रयुक्त हुनै पर्छ । विविध कारणले ओझेलमा पर्न लागेको लोकबाजा सारंगीका कारण अधिकांश नेपालीको मन संगीतमय त भएको छ नै, विश्व रंगमञ्चमा पनि यसले नेपाल र नेपालीलाई चिनाउने काम गरेको छ ।
सारंगीलाई लोप हुन नदिन यसको प्रयोग बढ्नु पर्छ । यसकालागि प्रयोगकर्ताहरुको संख्या बढ्नु अत्यन्तै जरुरी छ । अहिले सारंगीवादनका प्रशिक्षण पनि हुने गरेका छन । औपचारिक र अनौपचारिक रुपमा सञ्चालित सारंगी वादन प्रशिक्षले पनि नेपाल लोकबाजा सारंगीलाई जोगाउन केही हदसम्म सघाउन पुर्याएको छ । भेटघाट, मेला र भोजभतेरमा जाँदा लगाउने अनि घरमा बस्दा फुकालेर राख्ने गहना मात्र हैन सारंगी । नेपाली जनजीवनसंग कुनै पनि समय अलग राख्न नसकिने सर्वोत्कृष्ट बाद्ययन्त्र हो सारंगी । त्यसैले सारंगीले सिंगो नेपाल र नेपालीको पहिचान बोकेको छ भन्दा अत्युक्ति हुँदैन ।