समाजले के माग्छ ?

असोज– रामप्रसाद धिताल : वैदिक हिन्दू समाजमा चलेको मृत्युसंस्कार (बुबाआमाको क्रियाकर्म) को अवधि र प्रक्रिया छोट्याउनु पर्छ भन्ने आवाज एक पक्षले उठाइरहेको छ । एक अखबारमा राम्रै ‘पोजिसन’ मा रहेका र हिन्दू धर्मसंस्कृतिकै विषयमा कलम चलाउने अग्रज सञ्चारकर्मीसँग कुराकानी हुँदा उनले भने ‘तीन दिनमा क्रियाकर्म सक्न समाजले मागिसक्यो । समाजको मागलाई बेवास्ता गऱ्यो भने पछि परिन्छ ।’ उनको चिन्ता थियो, समाजलाई पुरानै मान्यतामा राखिराख्न खोज्यो भने हिन्दू धर्म छोड्ने क्रम बढ्छ । ‘बाचुञ्जेल हेलाँ गर्ने, मरेपछि दुनियाँलाई देखाउन १३ दिनसम्म सास्ती खेप्नु राम्रो होइन, जमाना बदलिसक्यो, काजक्रिया संस्कारलाई पनि ‘सर्टकट’ बनाउनुपर्छ’ भन्ने आवाज उठिरहँदा यो प्रसंग उठेको हो ।
हिन्दू संस्कृतिमा सन्तान (छोरा) सक्षम भएपछि बाबुआमालाई जीवनपर्यन्त लालनपालन गर्ने (जसरी सानोमा आफूलाई गरेका थिए) र मरेपछि विधिपूर्वक मृत्युसंस्कार गर्ने, वर्षेनि श्राद्धादि कर्म गर्ने परम्परा छ । बाँचुञ्जेल वास्ता नगर्ने वा पीडा दिने, मरेपछि क्रियाकर्म र श्राद्ध गर्ने संस्कृति हिन्दूहरूको हुँदै होइन ।

बाँचुञ्जेल मन, वचन र कर्मले कष्ट नपुऱ्याउने, सेवा गर्ने, मरेपछि पनि विधिपूर्वक संस्कार सन्तानले नै गर्ने हो । विचार गरौं त, यस्तो परिस्कृत संस्कृति कुन समाजमा होला । बाबुको आज्ञा शिरोधार्य गर्न हातमा आउन लागेको राजकाजसमेत छोडेर १४ वर्ष वनबास बस्ने राम, बाबुको खुशीका लागि आजीवन विवाह नगर्ने र राजगद्दीमा समेत नबस्ने देवव्रत (भीष्म), कंसको कालकोठरीबाट बाबुआमालाई मुक्ति दिलाउने कृष्ण, दृष्टिविहीन र अशक्त बाबुआमालाई काँधमा राखेर तीर्थाटन गराउने श्रवणकुमारलाई हिन्दू धर्ममा ‘आदर्श’ मानिएको त्यसै होइन होला ।

काजकिरियाकै सन्दर्भमा हिन्दू संस्कृतिमा दश दिनमा गर्ने र बााकी दुई/तीनमा गर्ने प्रक्रियाहरू नै अलग–अलग छन् । धर्म र अध्यात्मसँग जोडएका यी कुरालाई भौतिक दृष्टिले हेरेर यति वा उति दिन बनाउनुपर्छ भन्ने माग नै गलत छ । यद्यपि काजक्रियाका विषयमा केही अन्योल नरहेका भने होइनन् । काजकिरियामा बस्नेको संख्या, खाने पदार्थ र दानदक्षिणा हुने खर्चजस्ता कतिपय विषय शास्त्रमा भन्दा केही भिन्न पनि देखिएका छन् । कतिपय कर्ममा विकृति पनि बढेका छन्् । कुन शास्त्रीय हो वा कुन होइन भन्ने विषय सम्बन्धित क्षेत्रका विज्ञहरूले छुट्याउने हो, पत्रकार, एनजीओका जागिरे, अन्य पेशाकर्मी वा अल्पज्ञानीहरूले होइन । यसका लागि राजनीतिक वा पेशागत आग्रह–पूर्वाग्रह नबोकेका, आर्थिक लोभलालच नभएका, सरकारी–गैरसरकारी पद धारण नगरेका र स्वतन्त्र रूपमा वेदको अध्ययन गरेका विद्वान् ब्राह्मणहरूको निर्णय मान्य हुनसक्छ ।

हिन्दू समाजमा जस्तो छुट अरु कहाँ होला ? बाबुआमाको क्रिया गर्दिन, रीतिरिवाज मान्दिन भन्नेलाई छूट दिएकै छ । अर्को महत्त्वपूर्ण पक्ष संस्कारमा अडिन नसक्ने झण्झटिलो मान्नेहरूले विभिन्न सम्प्रदाय पनि जन्माउँदै लगेका छन् । वैदिक धर्ममा सजिला लाग्ने पक्षमात्र लिएर कति सम्प्रदाय जन्मेका छन् । आफूलाई सजिलो हुने संस्कृतिको विकास गर्दै रमाएर बसेकै छन् । वैदिक धर्मको विरोधी रूपमा निस्केको नास्तिक दर्शन पनि यहीँ अटाएको छ । नेपालमै रहेका विविध जातजातिमा अरु संस्कारजस्तै मृत्युसंस्कार पनि बेग्लाबेग्लै छन् ।

क्रमश: पश्चिमा संस्कृति लाद्ने नियतका साथ बेलाबेलामा हिन्दू धर्म–संस्कृतिमाथि प्रहार हुादै आइरहेको छ । भौतिक रूपमा सम्पन्न भएपनि सांस्कृतिक रूपमा कमजोर रहेका कारण पश्चिमाहरू विभिन्न सहयोगको नाममा यहाँ आधिपत्य जमाउन र मौलिक संस्कृति छिन्नभिन्न पार्न चाहन्छन् । पश्चिमा संस्कृति अन्य संस्कृतिजस्तै पारिवारिक संस्कृतिमा पनि कमजोर छ । विवाह र बिच्छेदको ठेगान नभएका कारण सन्तानले सानैमा आमाबाबुको काखबाट विमुख हुनुपर्ने समस्या व्यापक छ । यस्तै हातखुट्टा लाग्ने भएपछि बाबुआमालाई चटक्कै छोडेर जाने वा वृद्धाश्रममा लगेर राख्ने, मनलागे ‘फादर्स’ वा ‘मदर्स डे’ मा कोसेली बोकेर जाने चलन छ । हामीलाई यही संस्कृतितर्फ आकर्षित गरिँदैछ । ७ वा ५ वा ३ मा काजक्रिया सक्ने कुरा उठाउँदै अन्तत: त्यही बाटोमा लग्न खोजिएको छ । हिन्दू समाजलाई पश्चिमाहरूजस्तै संस्कारविहीन बनाउन खोजिँदैछ । यसका लागि कसले पहल गरिरहेको छ ? समाजले माग्यो भन्दैमा कुरै नबुझी यसलाई स्वीकार गर्ने कि नगर्ने ? समयको कुरा आफ्नै ठाउँमा छ तर काजकिरियामा खर्च बढेको संस्कारले होइन देखासिखीले हो ।

समाजले माग्छ भन्दैमा सबै कुरा जायज हुादैनन् । अनावश्यक मागका कारण समाजमा अस्थिरता बढ्छ भनेर नै नियम कानुन बनाइएका हुन्छन् । मुलुक, समाज र परिवारलाई बााध्न आ–आफ्नै किसिमका नियम कानुन बनेका हुन्छन् । उपयुक्त कानुनको निर्माण त्यसको प्रभावकारी कार्यान्वयनले मात्र परिवार समाज र देश सुसंस्कृत रहन्छ । धर्मशास्त्रका कानुनले समाजलाई अनैतिकतातर्फ जान रोकिरहेको हुन्छ । समाजले मागेको निहुँमा तिनमा भएका मूल्य मान्यता बेवास्ता गर्ने वा भौतिक आँखाले हेरेर परिर्वतन गर्दै जाने हो भने केही वर्ष वा दशकपछिको हाम्रो समाज कस्तो होला ?

समाजमा भ्रष्टाचार मौलाइरहेको छ । इमानदारीपूर्वक काम गर्ने भन्दा अनियमितता गरेर कमाउने र मेहेनत गरेर खानेहरूलाई ‘अछूत’को व्यवहार गर्ने चलन बढिरहेको छ । थोरै भएपनि आफ्नै मेहेनतमा रमाउनुपर्छ अनियमितता गर्नु हुँदैन भन्ने पनि हाम्रै समाजमा छन् । कोही यस्तो आदर्शमा अडिन नसकेर अनियमितताको बाटोतिर लागिरहेका छन् । घुसखोरी गरेर भएपनि सम्पन्न जीवन बिताउन चाहनेको संख्या बढ्दैछ । यसलाई समाजको माग भनेर छूट दिने कि नदिने ? भौतिकताको अन्धो दौड चलिरहेको छ । पैसा र प्रगतिको दौडका लागि मानिस अन्धाधुन्द दौडिरहेको छ । भौतिक सुख भोग्ने नाममा आफ्नो स्वाभिमान बेच्न तयार भइरहेको छ । नाता–सम्बन्ध, परम्परा, संस्कृति त्यागेर भएपनि पराधीन बन्ने संस्कृति विकास हुँदैछ । भौतिक सुख भोग्नकै लागि मानिस आफन्तकै हत्या गर्नसमेत पछि नपर्ने घटना बढ्दैछन् । राजनीतिक आडमा कयौं अपराधहरूलाई रहस्यको गर्भभित्र दबाउने अपराधीलाइ जोगाउने क्रम पनि त बढेकै छ । यसलाई पनि समाजकै माग भनेर आँखा बन्द गरेर बस्ने हो कि ?

सुखसुविधा भोग्नकै लागि कमाउन विदेश जाने चलन चलेको छ । कतिपय गाउँहरूमा बृद्धबृद्धा र बालबालिका बाहेक देखिँदैनन् । देशको माटो भुलेर अरुको माटोमा रगत पसिना बगाउन जानुलाई के भन्ने ? समाजको यस्तो मागलाई कसले मलजल गरिरहेको छ ? अझ अमेरिका क्यानडा जस्ता देशको पीआर, डीभी ग्रीनकार्डमा मानिस लोभिएका छन् । युरोप–अमेरिकाले सबैलाई डीभी दिने खबर आयो भने कति नेपाली स्वदेशमा बस्लान्, अनुमान गर्न सकिँदैन । यो पनि त समाजले नै मागेर त होला नि ।
पश्चिमा संस्कृतिको अनुकरण गर्दै नेपाली समाजमा खुला यौनव्यवहार क्रमश: बढिरहेको छ । हिन्दू शास्त्रअनुसार बिहेअघि यौनसम्बन्ध राख्न नहुने, बिहेपछि पनि पतिपत्नीमा मात्र सीमित हुनुपर्ने नियम थियो । यो नियम मान्ने हिजोआज कति होलान् ? यसले समाजलाई सुखी बनाएको छ त ? समाजका मानिसहरू यसप्रति आकर्षित भइरहेका छन् भन्दैमा यसलाई समाजको माग भनेर छूट दिने ? पश्चिमा संस्कृतिको अनुकरण गर्दै लाज ढाक्नै मुस्किल पर्ने कपडा लगाउनेतर्फ युवायुवती आकर्षित भइरहेका छन् । युवायुवती सार्वजनिक स्थलमै लाजलाग्दो गतिविधि गरेर बसेका देख्न्छिन् । यसले हाम्रो संस्कृतिमा पारिरहेको र पार्नसक्ने असरलाई ख्याल नगरी समाजले माग्यो भन्दैमा छूट दिने कि नदिने ?
पारिवारिक वा नातासम्बन्धको दृष्टिले हाम्रो संस्कृति परिपक्व थियो । अझै पनि केही समुदायले पारिवारिक एकतालाई कायम राखेकै छन् । मान्यजनलाई मौखिक वा व्यवहारले श्रद्धा गर्ने, सानालाई प्रेम गर्ने संस्कृति थियो । यो पनि क्रमश: क्षयीकरणको दिशातिर गइरहेको छ । अहिले आफ्नै सन्तानलाई आमाबाबुलाई नटेर्ने र ठूलाले आफ्नो संस्कार–संस्कृति सिकाउन ध्यान नदिने क्रम बढिरहको छ । बाबु–आमा, छोरा–छोरी, लोग्ने–स्वास्नी, दिदी–भाइ, दाजु–बहिनी बीचको सम्बन्धमा पनि दरार उत्पन्न भइरहेको छ । यो पनि त समाजकै माग होला ।

कतिपयलाई के भ्रम छ भने मानिसले बनाएका संविधान झै वेद स्मृतिका पनि मानिसले चाहेअनुसार पाँच, दश, पचास वा सय वर्षमा परिवर्तन गराउन सकिन्छ,  पुनर्लेखन गर्न सकिन्छ । २०४६ मा विश्वकै उत्कृष्टमध्ये एक भनेर बनाइएको संविधान काम नलागेर २०६३ मा फेरिएको जस्तो होइन । त्यसैले धर्मसंस्कृति जस्ता विषयमा कुनै शासक वा सरकारले निर्णय गर्ने होइन । लोककल्याणको हेतु राखेर हजारौं वर्षअघि बनेका अपौरुषेय वेद र तिनकै व्याख्या गर्ने अन्य ग्रन्थका मूल्य–मान्यता कहिल्यै बदलिँदैनन् । तिनमा रहेको लोककल्याणकारी पक्षलाई आत्मसात गर्न नसक्नु र अपव्याख्या गर्नु  मानिसको कमजोरी हो । हाम्रा मूल्य–मान्यता, नैतिकता र आचारव्यवहारका नियमहरू आफैंमा विशिष्ट छन् । आधुनिक बन्ने र समाजले मागेको नाममा महत्त्व नै नबुझी छोड्ने र आयातीत संस्कृति अँगाल्ने क्रम बढ्दै जाँदा हाम्रो अस्तित्व कहाँ पुग्ला, सोच्नु आवश्यक छ । कुनै पनि नियम किन चल्यो, त्यसको आध्यात्मिक अर्थ के छ र त्यो छोड्दा दीर्घकालीन रूपमा के असर पर्छ भन्ने विचार गर्नुपर्छ । काजकिरियाको मात्र कुरा होइन समाजमा रहेका अन्य पक्षहरूमा पनि यही कुरा लागु हुन्छ । यहाँ हिन्दू धर्म छोड्नेको संख्या बढ्छ भन्ने चिन्ताभन्दा पनि समाज कतातिर जाँदैछ भन्ने प्रश्न अहं हो ।dhitalramprasad@gmail.com

Published On:  1357पटक हेरिएको

तपाईको प्रतिक्रिया