काठमाडौं–भदौ ३१ । तपाईलाई थाहा छ ? नेपालको सबैभन्दा धनी पार्टी कुन हो ? निर्वाचन आयोगमा आय व्याव बुझाएका दलमध्ये व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस गत आर्थिक वर्ष सबैभन्दा धनी पार्टी हो । पछिल्लो एक वर्षमा कांग्रेसले ८ करोड ५४ लाख १३ हजार ५ सय ८५ रुपैंयाँ ३६ पैसा आम्दानी गरेको विवरण निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेसले १ करोड ५४ लाख ३० हजार ४ सय ७० रुपैंयाँ ४७ पैसा खर्च गरेको छ । यसरी हेर्दा कांग्रेसले एकवर्षमा मात्रै ६ करोड ९९ लाख ८३ हजार १ सय १४ रुपैंयाँ ८९ पैसा बचत गरेको देखिन्छ ।
कांग्रेसले सदस्यता वितरण, नविकरण र लेबीबाट मात्रै ६ करोड ६२ लाख १२ हजार ६ सय २ रुपैंयाँ ५० पैसा आम्दानी विवरण छ । दोश्रो ठूलो दल नेकपा एमालेले खर्च विवरण सार्वजनिक गरेको छैन । वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र भने झण्डै एक करोड घाटामा रहेको देखिएको छ । माओवादी केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष डोर प्रसाद उपाध्यायका अनुसार पछिल्लो वर्ष माओवादी ८३ लाख ८३ हजार १ सय ५७ रुपैंयाँ घाटामा छ ।
पछिल्लो वर्ष माओवादीले ४ करोड २१ लाख ९७ हजार ६ सय ५३ रुपैयाँ आम्दानी गरेकोमा ५ करोड ५ लाख ८० हजार ८ सय १० रुपैंयाँ खर्च भएको थियो । त्यस्तै, संसदको चौथो ठूलो दल राप्रपा नेपालको भने कारोबार लाखमा मात्र सिमित छ । पछिल्लो वर्ष राप्रपा नेपालले ८२ लाख ५० हजार २ सय २३ रुपैंयाँ १० पैसा आम्दानी गरेको छ । भने खर्च ७७ लाख ६७ हजार ६ सय २९ रुपैंयाँ रहेको छ ।