काठमाडौं–भदौ ३० । नजिकिंदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै बजारमा विभिन्न रङमा आकर्षक मिठाइहरु विक्रीका लागि राखिएका छन् । तर, तपाइले खाएको मिठाईमा मिसाइएको अखाद्य वस्तुले शरिरमा नमिठो पीडा पनि दिन सक्छ ।
त्यसैले आफुले राम्ररी हेरेर र बिचार पुर्याएर मात्र यस्ता मिठाइ किन्नुपर्ने सरोकारवालाको सुझाव छ । त्यसो त एकसाता अघि देखिनै आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइ पसलहरु अनुगमन गरिरहेको छ । विभागले कतिपय मिठाइ पसलहरुलाई समेत कारवाही गरिसकेको छ ।
विगतको तुलनामा मिठाई व्यापारीहरु सजग देखिए पनि बजारमा अझै अखाद्य वस्तु मिसाइएको मिठाइ विक्रीमा राख्ने गरेको पाइन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाबु खुवाउने आौशीको दिन अर्थात विहिवार मिठाइपसलमा छड्के अनुगमन गर्ने बताएको छ । अनुगमनको क्रममा मिठाइमा अखाद्य वस्तुको मिसावत भएको पाइएमा कडा कारवाही गर्ने बताएको छ ।
बजारमा मिठाई खरिद गर्दा कुनै अखाद्य वस्तु मिसावत भएको शंका लागेमा ग्राहकले विभागमा सिधै फोन सम्पर्क गर्न सक्नेछन् । त्यस्ता ठाउामा विभागका कर्मचारी पसलको मिठाई परिक्षणको लागि कर्मचारी पठाउने विभागले व्यवस्था गरेको छ । उपभोक्ता स्वयंले मिठाईमा मिसावट छ कि छैन, ताजा मिठाई हो कि होइन भनी सचेत हुन जरुरी छ ।