पाँचथर–२४ । नेपालबाट अदुवा निर्यातमा भारतले रोक लगाएपछि पाँचथरसहित पूर्वी पहाडी जिल्लामा अदुवाको कारोवार ठप्प भएको छ ।
निर्यात ठप्प भएपछि पाँचथरसहित इलाम र ताप्लेजुङमा उत्पादित अदुवा कृषक र व्यापारीका गोदाममा कुहिन थालेको छ । नेपाली अदुुवामा विषादी र मिसावट भएको भन्दै भारतले एक सातायता आयात रोकेपछि नेपाली कृषक समस्यामा परेका छन् । विभागको तथ्यांकअनुसार पुर्वी नेपालका इलाम र पाँचथर पहिलो र दोस्रो नम्बरमा अदुवा उत्पादन गर्ने जिल्लाका रुपमा चिनिएका छन् । स्थानीयस्तरमै अदुवा प्रशोधन गरेर खपत बढाउन राज्यले चासो नदिएकाले मार खेप्नुपरेको पाँचथरका अगुवा कृषकहरु गुनासो गर्छन ।
पाँचथर नगरपालिकासहित ३७ गाँउ विकास समितिमध्ये सबै ठाउमा अदुवा उत्पादन हुन्छ । अदुवा उत्पादनवाट राम्रो आम्दानी हुन थालेपछि पछिल्ला वर्षमा कृषकले कोदो र धान फल्ने जमिनमा पनि अदुवा खेती गर्दै आएका छन् । अदुवासँगै मकै पनि फलाउन सकिने भएपछि अदुवा खेतीमा कृषकको आकर्षण बढेको छ यद्यपी अदुवा बिक्रिगर्ने मुख्य सिजनमै कारोबार ठप्प हुदा समस्यामा परेको स्थानीय किसान ऋतुबर्ण ओझाले बताउनुभएको छ । यस्तै, स्थानीय व्यवसायी नारायण कोइराला समेत नेपाली अदुवाको मुख्य बजार भारत भएका कारण निर्यात प्रभावित हुँदा मारमा परेको बताउनुहुन्छ ।
जिल्ला कृषि विकास कार्यालय पाँचथरका अनुसार पुर्बाञ्चलमा इलामपछि पाँचथर अदुवा उत्पादन गर्ने दोस्रो जिल्लामा पर्छ । जिल्लाको ५ सय ६१ हेक्टर जमिनमा अदुवा खेती हुने गरेको छ । गत वर्ष पाँचथर जिल्लावाट मात्रै ८ हजार ८ सय ४९ मेट्रिकटन अदुवा निर्यात भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ । कृषकको आम्दानीको स्रोतसगै नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने अदुवाको निकासी रोकिँदा पनि नेपाली अधिकारीहरु भने मौन छन ।
निर्यात रोकिएपपछि पछिल्लो एक सातामा निर्यात गर्न तयार पारिएको सात हजार दुई सय मेट्रिक टन (झन्डै ७२ लाख किलो) अदुवा मुलुकका विभिन्न स्थानमा अलपत्र परेको छ । प्रतिबन्ध लगाइएको अल्दिकार्ब (एएलडीआईसीएआरबी) नामको विषादीको अवशेष नेपाली अदुवामा पाइएको भन्दै भारतले भदौ १६ गतेदेखि निर्यातमा रोक लगाएको थियो ।