म्याग्दी–भदौ २४ । म्याग्दीको सदरमुकाम बेनीमा व्यवस्थित बधस्थल नहुदा उपभोक्ता दूषित मासु उपभोग गर्न बाध्य भएका छन् ।
बेनी बजारको बहुउद्देश्यीय खेलमैदान र डल्लेपिपलमा असुरक्षित र पूर्वाधार बिनै बधस्थल सञ्चालन भएकाले उपभोक्ता दूषित मासु उपभोग गर्न बाध्य भएका हुन् । बधस्थलको सरसफाई, मासु ढुवानी र फोहोर व्यवस्थापनमा ध्यान नदिइदा वरपरको वातावरण समेत प्रदुषित भएको स्थानीयको गुनासो छ । दैनिकजसो राँगा र भैसी बध हुने यो बधस्थलमा पानी को अभावका साथै फोहोर र दुर्गन्धत फैलिएको छ ।
बध गर्दा निस्कने फोहोर व्यवस्थापनमा ध्यान नदिइदा उपभोक्ताहरु अस्वस्थ्य र दुषित मासु उपभोग गर्न बाध्य भएको पशु सेवा कार्यालयका बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले बताउनुभयो । पशु स्वास्थ्य प्राबिधिकहरुका अनुसार बेनीमा रहेका राँगा, भैसी, खसीबोका र कुखुरा बध गर्ने ठाउँ प्राबिधिक हिसावले अनुकुल छैनन् । फोहोर ब्यवस्थापन र पानीको अभाव मुख्य समस्या रहेको छ । म्याग्दी नदी किनारमा सञ्चालित बधस्थलले वातावरण र नदी प्रदुषण गरेको भन्दै बधस्थल हटाउन बजारबासीहरुले माग समेत गरेका छन् । तर, मासु व्यवसायी भने सरकारी निकायबाटै उचित बधस्थलको व्यवस्था नहुँदा समस्या देखिएको भन्दै आफ्नो कमजोरी ढाकछोप गरिरहेका छन् ।
बेनीमा रहेका २२ वटा पसलहरुले मासिक एक करोड रुपैया मूल्य बराबरको २६.७ मेट्रिक्टन मासुको व्यापार गर्दै आएपनि पसलको सरसफाईमा ध्यान दिन, स्वच्छ र सफा मासु बिक्री गर्न ध्यान दिएका छैनन । व्यवसायीलाई बारम्बार सुधारका लागि अनुगमन समितिले निर्देशन दिएपनि अटेर गर्दै व्यवसायीले पसल सञ्चालन गरिरहेका छन् । व्यवसायीको यस्तो लापरबाहीले उपभोक्ता स्वास्थ्यमा गम्भिर असर पार्ने देखिएको छ ।