काठमाडौं–भदौ २३ । सरकारले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्म सहयोग गर्ने गरि प्रक्रिया अघि बढाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार संसदमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्म सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो । योसँगै भूकम्पपीडितलाई ३ लाख राहत रकम दिने घोषणा गरेको सरकारले थप तीन लाख रुपैयाँ सामूहिक जमानीमा निब्र्याजी ऋण दिइने र बाँकी २ लाख रुपैयाँ सहुलियतपूर्ण ब्याजमा ऋण उपलब्ध गराउने भएको हो ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका आधारमा असोजभित्र स्थानीय तहको संख्या र सीमाको टुंगो लगाइने बताउनुभएको थियो । उहाँले आफ्नो पहिलो प्रतिबद्धता निर्वाचन मार्फत संविधानको कार्यान्वयन भएको भन्दै निर्वाचन पूर्वको तयारी तिब्र पारिने बताउनुभएको थियो । सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, स्थानीय तहको चुनाव, आफ्नो आसन्न भारत भ्रमण, पुर्वाधार विकासबारेको योजना समेत सार्वजनिक गर्नुभएको थियो ।
यस्तै, प्रधानमन्त्री दाहालले मुलुकमा पछिल्लो समय भइरहको सडक दुर्घट्ना न्युनिकरणका लागि एकीकृत कानुन निर्माणको तयारी भइरहेको भन्दै सरकारले १ सय वटा ठूला बस किनेर सञ्चालनमा ल्यउने तयारी थालेको बताउनुभयो । प्रधानमन्त्रीले विदेशी जेलमा रहेर ब्लडमनी कुरिरहेका नेपाली कामदारलाई छुटाउन ५ लाख रुपैयाँ सीडमनी दिने र बाँकी रकम देशविदेशमा रहेका नेपालीहरुबाट जुटाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले बिशेष दूत दुई छिमेकी देशमा पठाएर सम्बन्ध सुधारका अभियान थालेको भन्दै संवाद बाहिर रहेको मधेशी मोर्चालाई विश्वासमा लिन समेत सरकार सफल भएको बताउनुभएको थियो ।