काठमाडौं– भदौ १९ । वर्तमान सरकार गठन भएको झण्डै महिना दिन पुग्न लाग्दा समेत मन्त्रिमण्डल अझै पूर्ण हुन सकेको छैन । चार वटा मन्त्रालयमा अझै मन्त्रीबिहिन हुनाले पनि मन्त्रिमण्डलको अपूर्णता पुष्टी हुन्छ । साना दलका लागि भन्दै महिला बालबालिका र समाजकल्याण मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय, पशुपंक्षी मन्त्रालय र विज्ञान प्रविधि मन्त्रालय राखिएको छ ।
प्रमुख सत्ता साझेदार दलहरू कांग्रेस र माओवादी केन्द्रले आफ्ना तर्फबाट मन्त्री छनोट गरेर जिम्मेवारी दिइसकेपनि अधिकांश साना दलले भने मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । सरकारलाई १६ वटा राजनीतिक दलले समर्थन गरेका थिए । जसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा संयुक्त मात्र सरकारमा सहभागी छन् । वर्तमान सरकारलाई समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भने सरकारमा सहभागी नहुने बताइसकेको छ । सरकारलाई सथर्मन गरेको अर्को दल मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, उपप्रधानमन्त्री नपाएको भन्दै सरकारमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालय मध्ये बाँकी चार मन्त्रालयमा साना दलका नेताहरु मात्र सरकारमा सहभागी हुन सक्ने अवस्था रहेको छ ।
तर प्रधानमन्त्रीबाट भने साना दलबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै निर्णय भएको छैन । केपी ओली सरकारमा मन्त्री रहेका परिवार दलका एकनाथ ढकाल, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, समाजवादी जनता दलका प्रेमबहादुर सिंह लगायतका नेताहरू मन्त्री बन्ने दौडमा छन् । यतिखेर सरकारलाई समर्थन गर्ने समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहलाई मन्त्री बनाउने चर्चा चलिरहेको छ ।
यसअघिको सरकारमा सिंह खानेपानी तथा सरसफाई मन्त्री हुनुहुन्थ्यो । पछिल्लो समय सरकारलाई समर्थन गर्ने साना दलका नेता मन्त्रालय बाँडफाँड लगायतका महत्त्वपूर्ण निर्णयमा सत्तारूढ गठबन्धनले सहभागी नगराएको भन्दै रुष्ट बनेका छन् ।