भारत र चीनका लागि राजदूत सिफारिस

काठमाडौं–भदौ १७ । सरकारले भारत र चीनमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को विहीवार सिंहदरबारमा बसेको बैठकले भारतमा दीपकुमार उपाध्याय र चीनमा पूर्व मुख्यसचिव लीलामणि पौड्याललाई राजदूत बनाउने निर्णय गरेको हो । प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, चीन र भारतका राष्ट्रपतिको निकट भविष्यमैं हुन लागेको नेपाल भ्रमणलाई लक्षित गर्दै राजदूत नियुक्तिको सिफारिस गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

उपाध्यायलाई केपी ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । चीनमा तत्कालीन राजदूत महेश मास्केको कार्यकाल सकिएपछि त्यहाँ राजदूत रिक्त छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा डाक्टर मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डाक्टर श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा ऋषि अधिकारीलाई नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया