स्थानीय पुर्नसंरचनाको विषयमा तीन दलमा विवाद

काठमाडौं–भदौ १५ । स्थानीय निकायको पुर्नसंरचना  विषयमा प्रमुख तीन दलबीच विवाद देखिएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलबार बालुवाटारमा बोलाउनुभएको छलफलमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच विवाद देखिएको हो । बैठकमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकाय पुनर्संरचना आयोगले बुझाएको प्रस्ताव अव्यावहारिक भएको भन्दै व्यवहारिकताका आधारमा पुनर्संरचना हुुुनुपर्ने माग गर्नुभयो ।

बैठकमा सहभागी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्थानीय निकाय पुनर्संरचना आयोगले अघिल्लो सरकारले दिएको मापदण्डअनुसार काम गरिरहेकोले स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जनताले पाउँदै आएको सेवा सुविधाबाट बञ्चित नहुने गरी व्यावहारिक रूपमा पुनर्संरचना गर्नुपर्ने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरूले संविधान संशोधनको विषयलाई प्रवेश गराएका थिए । तर, विपक्षी दल नेकपा एमालेले संविधान संशोधन गर्ने विषयमा सबैभन्दा पहिले सरकारलाई स्पष्ट हुनु सुझाव दिएको थियो । एमालले जनता र राष्ट्र विपरीत हुने कुनै किसिमको संविधान संशोधनको पक्षमा सहयोग नगर्ने स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया