काठमाडौं–भदौ । सभामुख ओनसरी घर्तीले संशोधन मार्फत असन्तुष्ट पक्षका मागलाई सम्बोधन गरि संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने बताउनु भएको छ ।
नेपाल आदिवासी जनजाती महासंघले काठमाडौंमा गरेको संविधान संशोधनमा आदिवासी जनजातीका सवालहरु विषयक छलफलमा सभामुख घर्तीले असन्तुष्टिहरुलाई संविधान संशोधन मार्फत सम्वोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले संविधानलाई सर्वसम्मत बनाएपछि मात्रै देशमा दिगो शान्ति सहित विकासको ढोका खुल्ने बताउनुभएको थियो । उहाँले संविधानमा समेटिन नसकेका अधिकार सम्वोधन गर्ने मार्ग प्रशस्त रहेको भन्दै असन्तुष्ट पक्षले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
सभामुख घर्तीले संविधानले व्यवस्था गरेका धारा तथा उपधारामा टेकेर नै आफ्ना माग सुनिश्चित गर्न आन्दोलनरत पक्षलाई आग्रह समेत गर्नुभएको थियो । सभामुख घर्तीले अहिले प्राप्त उपलब्धिको रक्षा गर्न नसके अधिकार गुम्ने तर्फ संकेत गर्दै सबै पक्ष सचेत रहनुपर्ने बताउनुभएको थियो ।