बारा–भदौ ११ । बाराको निजगढस्थित जंगलमा एक जनाको शव फेला परेको छ । निजगढ नगरपालिका वडा नम्बर ५ बस्ने ४१ वर्षीय हिरालाल लुङ्गवा जंगलमा मृत अवस्थामा फेला परेका हुन ।
मृतक लुङ्गवासंगै जंगल गएका सुस्त श्रवण भएका एक स्थानीयले आफ्नो साथीको टाउकोमा प्लाष्टिकले छोपेर अज्ञात ब्यक्तीले टाउकोमा लठ्ठीले प्रहार गरि मारेर बोकेर लगेको भन्दै भागेर बाटुवाहरुसंग गुहार मागेका थिए । प्रहरी टोली र स्थानीय गाउँलेले हिजो साँझ अबेर मात्र लुङ्गवाको शव फेला पारेका थिए । शवको घाँटी र पिठ्यूँमा धारिलो घरेलु हतियार प्रहार गरिएको घाउ देखिएको छ ।
घटनामा संग्लन भएको आशंकामा इलाका प्रहरी कार्यालय निजगढको टोलीले एक शंकास्पद युवकलाई हिजै पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर–५ घर बताउने महमद आजाद अन्सारी रहेको निजगढ प्रहरीले जनाएको छ ।