पाठेघरको मुखको क्यान्सर रोक्न अग्रिम खोप अभियान

चितवन –भदौ १० । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि चितवनमा नयां ‘एचपिभी खोप’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

गतवर्षबाट नेपालमा नमुना कार्यक्रमको रुपमा आएको यो खोपले पाठेघरमा हुने क्यान्सर रोक्न सहयोग पुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले बताउनुभएको छ । एचपिभी खोपको प्रभावकारिता ९० प्रतिशत रहेको उहाँको दाबी छ । रोग लागेपछि उपचार खोज्ने भन्दा रोग नै लाग्न नदिने उपायका रुपमा यो खोप नेपाल ल्याइएको दाबी स्वास्थ्यकर्मीको छ । नमुना खोप कार्यक्रम अहिले  चितवन र कास्की जिल्लामा सञ्चालन भइरहेको छ । दुई जिल्लामा सफल भएपछि देशभर नि:शुल्क खोप कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

khowpa hpbनेपालमा अहिले नि:शुल्क रहेको खोपको खरिद मूल्य करिब १० हजार रहेको बताइएको छ । विश्वका ६४ देशमा यो खोप सञ्चालित छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालित खोप कार्यक्रम अन्तर्गत कक्षा ६ का बालिकालाई खोप दिइएको छ । नौ वर्ष उमेर मुनिकालाई यो खोप दिन नमिल्ने बताइएको छ । पाठेघरको मुखको क्यान्सर एक किसिमको एचपिभी भन्ने भाइरसबाट सर्छ ।यौन सम्पर्कका बेला यो रोग सर्ने भएकाले यौन सम्पर्क हुनुअघि नै खोप लगाई रोकथाम गर्न सकिने स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् ।

एक तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट दुई लाख ७० हजारको मृत्यु हुने गरेको छ । यी मध्ये ८५ प्रतिशत विकासोन्मुख देशका छन् । नेपालमा समेत वर्षेनी १० हजार महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेको तथ्याङ्कले देखाउँछ ।

 

तपाईको प्रतिक्रिया