काठमाडौं–भदौ १० । संयोगले राजनीतिमा प्रवेश गर्नुभएकी भारतकी छोरी सीतादेवी यादव नेपालकी मन्त्री बन्नुभएको छ । पतिको पदभार बोक्दै नेपाली कांग्रसको राजनीति थाल्नुभएकी यादव शान्ति मन्त्री बन्नुभएको हो ।
माओवादी सशस्त्र संघर्ष चर्केको बेला २०५७ मा सीतादेवीका पति चन्द्रनारायण यादवको हत्या भएको थियो । तर संयोग नै मान्नुपर्छ पति हत्या गर्ने तत्कालिन समूहका सर्वोच्च कमान्डर प्रचण्डकै सरकारमा उनी मन्त्री बन्नुभएको छ । सीतादेवीको माइती भारतको मधुवनीस्थित पद्मागाउँ हो । वैवाहिक अंगीकृत नागरिकता लिनुभएकी यादव सिराहा कांग्रेसका सभापति रहनुभएका श्रीमान्को हत्यालगत्तै जिल्ला सभापति बन्नुभयो । कांग्रेसकी कोषाध्यक्ष समेत रहनुभएकी सीतादेवीलाई यो सफलता दिलाउन उनका छोरा डा.सुभाषचन्द्र यादवले समेत साथ दिएका छन् ।
प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएकी यादव तराई–मधेसमा शिक्षा, चेतना फैलाउनुपर्ने र रोजगारी वृद्धि गर्नुपर्ने बारे लामो समयदेखी आवाज उठाउँदै आउनुभएको छ ।