काठमाडौं–भदौ ६ । अख्तियारले ८६ लाख ४० हजार बढी बिगो र कैद दाबी गर्दै तीन सरकारी कर्मचारी र नेपाल साउथ एशियन मेटेरियल कम्पनीमाथि मुद्दा दायर गरेको छ । सरकारी जग्गा किर्ते गरी बेचेको अभियोगमा धादिङ जिल्ला मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत मोहनजंग थापा, नायव सुब्बा सत्यनारायण नेपाल र नापी कार्यालय सर्वेक्षक विश्वकुमार बस्नेत उपर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
त्यस्तै, सरकारी जग्गा किन्ने नेपाल साउथ एशियन मेटेरियल कन्स्ट्रक्सन कम्पनीमाथि पनि सोही बराबरको बिगो र कैद दाबी गर्दै मुद्दा दायर गरिएको हो । धादिङको केवलपुर गाविसको वडा नम्बर ३ का हरिवीर लामा र गौतम लामाले आफ्नो जग्गा साउन एशियन मेटेरियल कम्पनीलाई बिक्री गराउने क्रममा आफ्नो जग्गासँंग सांध जोडिएका सरकारी जग्गासमेत बिक्री गराएको र सो कार्यमा नापी र मालपोत कार्यालयका कर्मचारीको मिलेमतो देखिएपछि अख्तियारले पक्राउ गरी मुद्दा दायर गरेको हो ।