हरि न्यौपाने भदौ, ५ । धादिङ जिल्लासहित देशभरका सामुदायिक वनभित्र रहेका भवन वन कार्यालयले भत्काउन लागेकोप्रति सामुदायिक वन उपभोक्ता महासंघले आपत्ति जनाएको छ । महासंघकी महासचिव भारती पाठकले आज एक विज्ञप्ति जारी गरी सामुदायिक भवनहरु जबरजस्ती भत्काउन लागेको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । सामुदायिक वन उपभोक्ता समूहको सामुदायिक सम्पत्ति हानी नोक्सानी गर्ने कार्य गर्न शुरु गरिएकाले यसको विरोध गरिने पाठकले जानकारी दिनुभयो ।
विगत केही समयदेखी धादिङ लगायतका केही जिल्ला वन कार्यालयहरुले सामुदायिक वनको संरक्षण, सुरक्षा र रेखदेखका लागि निर्माण गरिएका सामुदायिक भवनहरु जबरजस्ती भत्काइ सामुदायिक वन उपभोक्ता समूहको सामुदायिक सम्पत्तिमा गंभिर हानी नोक्सानी पुर्याउने कार्य गर्न शुरु गरिएकोले उक्त कार्य तत्काल राक्न आग्रह विज्ञप्तिमा उल्लेख छ ।
महासंघका अध्यक्ष गणेश कार्कीले देशभर ३ हजार बढी सामुदायिक भवन, घर टहरा रहेकाले सरकारले भत्काउने नियत लिएको भन्दै विरोध गरेको जानकारी दिनुभयो । ‘धादिङजस्ता देशभर ३ हजार घर टहरा सामुदायिक वनभित्र छन । कुनै एकको विरोध गरेर भएन नि । सामुदायिक वनको सुरक्षाआदि प्रयोजनका लागि बनाउन पाइन्छ ।’ कार्कीले बताउनुभयो । सामुदायिक वन उपभोक्ता समूहले वन नियमावली २०५१ को नियम ३१(२) बमोजिम र जिल्ला वन कार्यालयबाट स्वीकृत कार्ययोजना बमोजिम सामुदायिक वनको सुरक्षा, संरक्षण र रेखदेखका लागि विगतमा बनाएका सबै सामुदायिक भवनहरुको शिलान्यास र उद्घाटन स्वयं वन विभाग र जिल्ला वन कार्यालयहरुबाट नै भएकाले यसलाई नै भई मान्यता दिइएकाले भत्काउने सरकारको तयारी विरोधाभाषपूर्ण भएको महासंघकी महासचिव भारती पाठकले बताउनुभयो । महासंघले वनभित्रका भवनको सुरक्षाका लागि एक हुन सबैलाई आग्रह पनि गरेको छ । धादिङ जिल्ला वन कार्यालयले हालै धादिङको अमरावती सामुदायिक वनभित्रको भवन भत्काउने चेतावनी दिएको छ ।