‘हेवा ए’ जलविद्युत्ले भदौ १५ बाट विद्युत उत्पादन थाल्ने

पाँचथर–भदौ ४ । पाँचथर जिल्लामा निर्माण भएको ‘हेवा ए’ जलविद्युत् आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भई परिक्षण प्रसारणको क्रममा रहेको निर्माण पक्षले जनाएको छ ।

haya-aचौध दशमलव ९ मेगावाट क्षमताको आयोजना निर्माणको जिम्मा पाएको पाँचथर पावर कम्पनीले पाँच वर्षपछि परीक्षण प्रसारणको चरणमा पुगेको जानकारी दिएको हो । आयोजनाबाट यही भदौ १५ गतेदेखि परीक्षणका रूपमा बिजुली उत्पादन सुरु हुने बताइएको छ । दुई अर्ब १६ करोड रूपैयाँ लागत अनुमान गरिएको आयोजना नाकाबन्दी र स्थानीय अवरोधका कारण अनुमान भन्दा बढी खर्चिएर निर्माण सम्पन्न हुन लागेको हो । चार किमी टनेल (सुरुङ), ड्याम, इलेक्ट्रिक जडान, पावर हाउस र ट्रान्समिसन लगायतका काम पूरा भइसकेको छ ।

सानिमा, माछापुच्छ्रे र नेपालइन्भेष्टमेन्ट बैंकसहित ११ वटा बैंक, व्यक्ति र व्यवसायीको संयुक्त लगानी रहेको यो आयोजना नेपाल सरकारबाट भाडामा लिएको ९२ रोपनी, स्थानीयसँग लिएको ७५ रोपनी र वन कार्यालयबाट सट्टा भर्ना गरेको १५ रोपनीसहित १८२ रोपनी जग्गामा फैलिएको छ ।

तपाईको प्रतिक्रिया