काठमाडौं–भदौ ४ । केही दिनअघि पूर्व आपूर्ती मन्त्री गणेशमान पुनको नेतृत्वमा आपुर्ती व्यबस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन लाई तिब्रता दियो । यो अनुगमनका क्रममा गुणस्तरहीन र अखाद्य समाग्री फेला परे, केही व्यापारिक फर्म तथा पसल कारबाहीको दायरामा पनि आए । तर नियमित र निरन्तर रुपमा बजार अनुगमन हुन नसक्दा यस्ता मौसमी अनुगमनले बजारको मनोमानी रोक्न सक्दैन । बजारको अवस्था कस्तो छ भने, अनुगमनका क्रममा सतुंगलस्थित मोजबिल वधशालामा विक्रीमा राखिएको मासुमा किरा नै भेटियो ।
काठमाडौंका मिठाई पसलमा झिँगा र फोहोरमैला फेला पारेको थियो । व्यवसायीको मनोमानी यति बढेको छ कि अनुगमन गर्न आउनेमाथि आक्रमण गर्नसमेत पछि परेनन् । बल्खु स्थीत तरकारी बजारमा त व्यबसायी र अनुगमन टोली बिच झडप नै भयो । यस्तै औषधी पसलहरुको अनुगमनमा लापरबाही भेटिदा कतिपय औषधी पसल सिल समेत भए । हुन त यसअघि पनि सरकारले यस्ता अनुगमन प्रशस्तै गरेको छ र व्यवसायीका थुप्रै बद्मासी फेला परिसकेका छन् । तर, समस्या भने ज्युका त्यु छ ।
समस्याको मूलजरो मास्नेभन्दा साना व्यापारीलाई मात्र कारबाही गर्ने र ठूलालाई ढोकाबाट छिराएर जस्केलाबाट भगाउने परम्परा अन्त्य नभएसम्म समस्या २० को १९ हुने देखिँदैन । उपभोक्ता स्वास्थ्यमा भइरहेको गम्भीर लापरबाही रोक्न सरकारी संयन्त्र निरन्तर सक्रिय बन्नैपर्छ । व्यापारका नाममा होस वा सेवाका नाममा उपभोक्ता अधिकारमाथी खेलबाड गर्ने अधिकार कसैलाइ पनी छैन । बजार अनुगमन झारा टार्न मात्र नभइ प्रभावकारी रुपमा हुनुपर्छ ।