के हुन्छ एमालेको अबको बाटो ?

काठमाडौं–भदौ, ३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर नयाँ सरकार गठन भएसँगै संसदको दोश्रो ठूलो दल नेकपा एमालेले अब रचनात्मक र शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ । संविधान कार्यान्वयनको लागि राष्ट्रिय सहमति सहितको सरकार आवश्वयक पर्ने भएपनि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पहिलो र दोश्रो दलसंगै सरकारमा सहभागी हुन नहुने सिद्धान्त प्रतिपादन गरेकाले आफुहरु सरकारमा सामेल नहुने सचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

एमालेले कांग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बनेको सरकारको गुण र दोषको आधारमा समर्थन र बिरोध गर्ने पनि जनाएको छ । सरकारको हनिमुन पिरियडसम्म एमालेले बिरोध नगर्ने तर त्यसपछि भने सरकारको काम अनुसार धारणा बनाउने पनि उसको दाबी छ । एमाले संसदीय चुनावसम्म कुनै पनि सरकारमा नजाने र चुनावमार्फत बहुमत ल्याउने रणनीतिमा लाग्ने सचिव ज्ञवालीको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको विकास निर्माणको काम, आर्थिक विकासको रोड्म्याप र संविधान कार्यान्वयनको विषयमा एमालेले सरकारको सहयोगी बन्ने पनि जनाएको छ । साथै, नयां सरकारले नेपाली धरातलमै गठन भएको आधार, संविधान कार्यान्वयनमा प्रतिबद्धतासहितको गति, छिमेकीसंगको सम्बन्धलाई सन्तुलनमा राख्नु चुनौतिपूर्ण रहेको पनि एमालेको निर्णय छ ।

तपाईको प्रतिक्रिया