काठमाडौं–साउन ३२ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावितलाई अनुदान रकम दिनका लागि सोमबारबाट एकमहिने विशेष अभियान सञ्चालन गरेको छ । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आजदेखि शुरु भएको एक महिने विशेष अभियानमा भूकम्पबाट प्रभावित भएका र लाभग्राहीको सूचीमा समावेश भएका ३ लाख जनालाई रकम वितरणको सम्झौता गर्ने जानकारी दिनुभयो । उहाँले अहिलेसम्म ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता भइसकेको बताउनुभयो । उहाँले ४९ हजार ७ सय ४९ जनालाई पहिलो किस्ताको रकम समेत दिइसकेको बताउनुभयो ।