काभ्रे–साउन ३१ । काभ्रेको बिर्ता देउरालीमा बस दुर्घट्ना हुंदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । काठमाण्डौबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस विर्ता देउरालीस्थित खहरे खोलामा खस्दा ३० जनाले ज्यान गुमाएका हुन् । दुर्घट्नामा परि ३० जना घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारका लागि काठमाडौंको महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइदै छ ।
सेनाको हेलिकोप्टर घटनास्थलमा अवतरणको प्रयासमा रहेको र अवतरण भएपछि गम्भिर घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइने काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताउनुभएको छ । घटनास्थलमा पुगेका ५ वटा एम्बुलेन्स भएपनि सामान्य घाइतेलाई मात्रै एम्बुलेन्स मार्फत उपचारका लागि लगिने बताइएको छ । स्थानीयले घटनास्थलमा हेलिकोप्टर अवतरणका लागि अस्थायी हेलिप्याड समेत बनाइसकेको बताइएको छ । पानी र हावा हुरीका कारण घटनास्थलमा हेलिकोप्टर बस्न सकेको छैन ।
दुर्घट्नास्थल रामेछापको सिमाना नजिक पर्ने तथा कच्ची सडक प्रयोग गर्नुपर्ने प्रहरीले जनाएको छ । काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबाहक बस बिर्तादेउराली गाविसको कोतालीस्थित खहरे खोलामा दुर्घटनामा परेको थियो । घटनास्थलमा स्थानीय र प्रहरीले उद्धारकार्य गरेका थिए । बस सडकबाट करीव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।