काठमाडौं–साउन ३१ । साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ । साउन महिना वर्षकै पवित्र महिना भएकाले साउन महिनाको सोमबार शिव पूजन अझ पवित्र मानिन्छ । यसपालीको साउन महिनामा पाँचपटक सोमबार परेको हुँदा अझ विशेष रुपमा लिइएको छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।
साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी लगायर नाजगान, भजनकिर्तमा समेत लिप्त हुने गर्दछन् ।