ताप्लेजुङ–साउन । पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा इलाम एघारले जित हात पारेको छ ।
ताप्लेजुङ सदरमुकामस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा इलामले सुनसरी एघारलाई एक–शून्य गोलअन्तरले पराजित भएको हो । खेलको दोस्रो मिनटमा इलामका असिम राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक–शून्यले पछि परेको सुनसरीले दोस्रो हाफमा गोल गर्ने राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो । पाथीभरा गोल्डकपमा आयोजक ताप्लेजुङ, रोयल फुटबल क्लब सिलगुडी भारत, फिदिम स्र्पोटिङ क्लब पाँचथर, इलाम एघार, पूर्वी क्षेत्रीय प्रहरी क्लब रानी विराटनगर, सुनसरी एघार, पथरी स्र्पोटिङ क्लब मोरङ र गोर्खा स्र्पोटिङ क्लब दमक गरी आठ टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेता टोलीले २ किलो २० तोला चाँदी र २ तोला सुनबाट बनेको पाथीभरा गोल्ड कप र १ लाख ५१ हजार १ सय ११ रूपैयाँ पाउने छ । यस्तै, उपविजेता टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँ पाउने छ ।