तनहुँमा सम्बन्धविच्छेदका घटना बढे

तनहुँ–साउन २४ ।  तनहुँ जिल्लामा सम्बन्धबिच्छेद गर्नेको संख्या बर्षेनि बढ्दै गएका छन् । पारिवारिक बेमेल र आपसी सम्बन्ध राम्रो नहुँदा सम्बन्ध बिच्छेदका घटना बढेका हुन् । तनहुँ जिल्ला अदालतको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७२/०७३ मा सम्बन्ध विच्छेदका मुद्दा ११ प्रतिशतले बृद्धि भएका छन । जिल्ला अदालतमा गत आर्थिक वर्ष सम्बन्ध विच्छेदका २ सय ४३ मुद्दा दर्ता भएकोमा १ सय ९९ वटा मुद्दा फछ्र्यौट भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७१/०७२ मा सम्बन्ध विच्छेदका २ सय १४ मुद्दा दर्ता भएकोमा १ सय ८९ मुद्धा फैसला भएको श्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिनु भएको छ ।

वैदेशिक रोजगार, सामाजिक सञ्जाल, विद्युतीय सञ्चारमाध्यम र विदेशी संस्कृतिको प्रभाव, महिला अधिकार, सम्पत्ति, घरेलु हिंसा लगायतका कारणले सम्बन्ध बिच्छेदका घटना बढेको देखिएको छ । त्यस्तै, जिल्ला अदालत तनहुँले आर्थिक वर्ष २०७२/०७३ मा ७३ दशमलव दुई एक प्रतिशत मुद्दा पछ्र्यौट गरेको छ ।

गत आर्थिक बर्षमा ८ सय ९४ नयाँ र जिम्मवारी सरी आएका २ सय १५ गरी १ हजार १ सय ९ मुद्दाको लगत रहेकोमा ८ सय १२ मुद्दा फछ्र्यौट भई २ सय ९७ वटा मुद्धा बाँकी रहेको बताइएको छ । अदालतमा ८१ लाख २३ हजार १७ रुपैयाँ २८ पैसा जरिवान लगत उठ्नु पर्ने देखिएकोमा फछ्र्यौट भएका मुद्धाबाट २४ लाख २ हजार ७ सय ९१ रुपैयाँ राजश्ज संकलन भएको छ भने ५७ लाख २० हजार २ सय २५ रुपैयाँ ८१ पैसा जरिवान भुक्तानी हुन बाँकी रहेको छ ।

न्याय सम्पादन कार्यलाई छिटो छरितो र पहुँचयोग्य बनाउँदै न्यायपालिका प्रतिको आस्था र विश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ अगाडि बढेकाले मुद्दा पछ्र्यौटको संख्यामा वृद्धि भएको जिल्ला न्यायधीश अम्मरराज पौडेलले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया