काठमाडौं–साउन २४ । सभामुख ओनसरी घर्तीले आदिवासी जनजाती र मधेशी समूदायले उठाएका मागहरुलाई संविधान संशोधनमार्फत समाधान खोज्न आग्रह गर्नुभएको छ । २२ औं विश्व आदिवासी दिवसको पूर्वसन्ध्यामा नेपाल आदिवासी जनजाती महासंघले काठमाडौंमा आइतबार गरेको कार्यक्रममा सभामुख घर्तीले संविधान अपूर्ण र अधुरो रहेमा संशोधनमार्फत जान सकिने बताउनुभएको हो ।
सबै समुदाय, जातजातीले उठाएका मागहरुको संम्बोधन र पूर्णताका लागि सबै पक्षले सहयोग गर्नुपर्ने सभामुख घर्तीको भनाई छ । सभामुख घर्तीले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन नियम बनाउनु र संविधानलाई पूर्णता दिने कामलाई अघि बढाउनु आफ्नो मुख्य कार्यभार रहेको बताउनुभयो । राजनीतिक दलहरुबीच एकता भए सबै समस्याको समाधान निस्कने भन्दै सर्वभौमसत्ता नेपाली नागरिक भएर बांच्ने आधार निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।