बाढीपहिरोमा परी ४३ जिल्लामा गरी एक सय दुई जनाको ज्यान गएको र २२ जना बेपत्ता भएको सरकारले जनाएको छ ।
संसद बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका मन्त्री भीम रावलले बाढीपहिरोका कारण देशका ४३ जिल्लामा एक सय २ जनाको ज्यान गएको र २२ जना वेपत्ता रहेको जानकारी दिनुभएको हो । मन्त्री रावलका अनुसार बाढी पहिरोका कारण सबैभन्दा धेरै प्युठानमा ३१ जनाको मृत्यु भएको र २ सय ५७ परिवार विस्थापित भएका छन् । ५८ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्री रावलले बाढीपहिरो पीडितका लागि लत्ता कपडा, खाद्यान्न, भाडाकुँडा, त्रिपाल लगायत आवश्यक सामान पुर्याइएको जानकारी दिनुभयो ।
बाढीपहिरोमा परी घर भत्किएका पीडितलाई ३५ हजार रूपैयाँ तत्काल उपलव्ध गराउने र मृतकका परिवारलाई काज किरिया खर्चका रूपमा ४० हजार रूपैयाँ उपलब्ध गराउन मतहतका निकायलाई निर्देशन दिएको मन्त्री रावलले बताउनुभएको थियो ।