वैदेशिक रोजगारी– परिवारमा कलह बढाउने कारक

झापा–साउन १५ । वैदेशिक रोजगारीबाट स्वदेशमा रेमिट्यान्स भित्रिदै आएको छ । यसले धेरै सर्वसाधारणको जीवनस्तर उकासेको पनि छ । तर यहि वैदेशिक रोजगारी अहिले कतिपयका घर–परिवारका लागि कलह निम्त्याउने कारक बनेको छ ।

jhapa jilla cortजिल्ला अदालत झापामा सम्बन्ध विच्छेदका मुद्दा धेरै पर्ने गरेको तथ्याङ्कले वैदेशिक रोजगारीले पारिवारिक बिखण्डनमा ठूलो असर पारेको देखिएको छ । आर्थिक वर्ष ७२/७३ मा ३ हजार ७ सय ६० वटा मुद्धा दर्ता भएकोमा ८ सय ३३ वटा सम्बन्ध बिच्छेदका मुद्दा छन् । यी मध्ये ६ सय ६४ मुद्धा फछ्र्यौट गरिएको अदालतको तथ्याङकले देखाउँछ । यस्तै, ७१/७२ मा यो बर्षको भन्दा १ सय बढी ९ सय ३८ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए भने ७७४ वटा मुद्दाको फछ्र्यौट भएको थियो । यसरी बर्षेनी सम्बन्ध विच्छेदका घटना बढ्नुको मुख्य कारक वैदेशिक रोजगारी नै रहेको भेटिएको छ ।

समाजका अभिभावकको भूमिका निर्वाह गरिरहेका पुरुष परिवारबाट बाहिरिदा र परिवारका अन्य सदस्यहरु जिम्मेवार नबन्दा समस्या भएको सामाजिक अभियन्ताहरु बताउँछन् । अझ सम्बन्ध बिच्छेदले निम्त्याउने पारिवारिक बिखण्डनको प्रत्यक्ष असर बालबालिकामा पर्ने गरेको झापा जिल्ला अदालतका प्रमुख न्यायाधिश सुर्दशन पाण्डेले बताउनुभएको छ । सम्बन्ध विच्छेद पछि अंश पाइन्छ भन्ने गतल सोचका कारण पनि धेरैको घरपरिवार उजाडिन थालेको अदालतका न्यायधिश पाण्डे बताउनुहुन्छ । अझ सम्बन्ध बिच्छेदका अधिकांश मुद्धा महिला आफैबाट दायर भएपछि यसको पुष्टि मिलेको छ ।

jhapa devoseपुरुषले स्थानीय निकायमार्फत मात्र सम्बन्ध बिच्छेदका लागि अदालत जान पाउने कानुनि ब्यवस्था भएकाले महिला नै सम्बन्ध बिच्छेद गर्न अग्रसर हुने गरेको पाइएको छ । सम्बन्धित महिला पुरुष अदालत पुग्नु अघि बैदेशिक रोजगारीमा गएका श्रीमान् बिदेशबाट फर्किएपछि श्रीमती अर्कैसँग लागेको, कमाएको सम्पति फुर्मास गरेको लगायतका समस्या लिएर प्रहरीमा पुग्ने गरेको भेटिएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख खड्ग बहादुर खत्री अदालत र प्रहरीमा आउने गरेका सम्बन्ध बिच्छेदका घटनाको यो संख्याले हाम्रो समाजमा बिकृति र ब्यक्तिगत स्वार्थ बढ्दै गएको बताउनुहुन्छ ।

वैदेशिक रोजगारीले समाजमा पारेको यस्तो नकारात्मक प्रभाव बेलैमा रोकथाम नगर्ने हो भने भोलीका दिनमा यो प्रबृत्तिले विकराल रुप लिनपनि सक्छ । यतातर्फ सबै सचेत बन्नुपर्छ ।

तपाईको प्रतिक्रिया