दुर्घटना अपडेट–मृतकको संख्या १४ पुग्यो

धनकुटा–साउन १३ । धनकुटाको सिधुवा बजारनजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

accident dhankutaदुर्घटनामा परि घाइते भएका २८ जना मध्ये १ जनाको धनकुटा जिल्ला अस्पताल र २७ जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटनामा माओवादी केन्द्रका धनकुटा अध्यक्षसमेत रहेका पूर्व अर्थराज्यमन्त्री हरिराज खेवाको मृत्यु भएको छ । यस्तै, धनकुटा परेवादिनका अतिमाया तामाङ, खिनमाया भट्टराई, तारा बस्नेत, उनकी छोरी ३ वर्षीया रेखा, धरानका वेदप्रकाश अग्रवाल र धनकुटा बुढिमोरङका सनम तामाङको दुर्घटनामा परि मृत्यु भएको छ । धनकुटा मारेकटहरे–३ का ५२ वर्षीय वीरबहादुर काफ्ले, लेगुवा –२ का १५ वर्षीय तेजबहादुर थापा र तह्रथुम फुलेक–६ का १२ वर्षीया होमा पौडेल र संखुवासभा मावि–१ का ६५ वर्षीय टङ्क कटुवालको बस दुर्घटनाबाट ज्यान गएको छ ।

मृतक तीन पुरुषको सनाखत हुन बाँकी छ । सात जनाको घटनास्थलमै र ७ जनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । संखुवासभाको मुढेशनिश्चरेवाट धरान जाँदै गरेको बा.२.ख ७३६६ नम्बरको बस दिउँसो करिब १२ बजे धनकुटाको परेवादिन–५ स्थित चर्चघुम्तीमा पल्टिएको थियो ।

बाक्लो हुस्सुसहित पानी परेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । घुम्तीमा मोड्ने क्रममा ब्रेक फेल भएर बस सडकबाट करिव एक सय मिटर तल खसेको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

तपाईको प्रतिक्रिया