काठमाडौं–साउन । सरकारले १२ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भारतमा सम्पन्न १२ औं सागमा नेपाललाई ६० पदक दिलाउन सफल खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गर्नुभएको हो । नेपालले १८ खेलमा ३ स्वर्ण, २३ रजत र ३४ वटा काँस्य गरी ६० पदक जित्न सफल भएको थियो । व्यक्तिगततर्फ स्वर्ण पदक जितेकी जुडोकी फुपु ल्हामु खत्री र उसुकी निमा घर्तिमगरले जनही ५ लाखका दरले नगद पाएकी छिन् । त्यस्तै, स्वर्ण पदक जितेका नेपाली पुरुष फुटबल टोलीका खेलाडीले भने जनही दुई लाख नगद प्राप्त गरेका छन् । त्यस्तै, व्यक्तिगतर्फ रजत पदक विजेता खेलाडीलाई सरकारले जनही ३ लाखका दरले पुरस्कार वितण गरेको छ भने समूहमा रजत विजेता खेलाडीलाई एक लाख नगदसहित सम्मान गरेको छ ।
त्यस्तै, व्यक्तिगत रुपमा कास्य पदक विजेता खेलाडीलाई दुई लाखका दरले सम्मान गरिएको छ भने समूहगत रूपमा कास्य पदक जित्ने खेलाडीलाई सरकारले ५० हजारका दरले नगद पुरस्कार प्रदान गरेको छ । स्वर्ण पदक विजेता प्रशिक्षकलाई तीन लाखका दरले पुरस्कार दिइएको छ भने रजत र कास्य विजेता प्रशिक्षकलाई क्रमश: दुई र एक लाखका दरले पुरस्कार दिइएको छ ।