जिल्ला/काठमाडौं–साउन १२ । तीन दिन यताको बाढी पहिरोमा परी ५४ जनाको मृत्यु भएको छ ।
गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार देशभर बाढी तथा पहिरोमा परी सोमबारदेखि आजसम्ममा ५४ जनाको मृत्यु भएको छ भने २१ जना हराइरहेका छन् । गृहमन्त्रालयका अनुसार बाढी तथा पहिरोका कारण देशका १४ जिल्ला प्रभावित भएका छन्, जसमध्ये मध्यपश्चिम तथा पूर्वका ८ जिल्ला बढी प्रभावित छन् । मध्यपश्चिमका प्युठान, बाँके, बर्दिया, दाङ तथा पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी धनुषालगायत जिल्ला बाढी पहिरो तथा डुवानबाट प्रभावित बनेका छन् ।
सरकारले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोमा परेकाहरूको उद्धार गर्न सम्पूर्ण संयन्त्र परिचालन गरेको दाबी गरेको छ ।