नुवाकोट–साउन १२ । भूकम्पपीडित किसानका लागि पशु कार्यालयले वितरण गरेको बोकाले फैलाएको रोगबाट नुवाकोटमा एक सयभन्दा बढी चौपाया मरेका छन् ।
भूकम्पपीडित राहत कोष पुन:स्थापना कार्यक्रममार्फत बाँडिएका बोकाबाट फैलिएको रोगले विभिन्न गाविसका किसानले पालेका एक सयभन्दा बढी खसी, बोका, बाख्रा र पाठापाठी मरिसकेका छन् । रोगको सक्रमणबाट एक हजारभन्दा बढी चौपाया बिरामी छन् । पशु कार्यालयले स्थानीय ‘मनकामना बाख्रा फार्म’ बाट खरिद गरी एक सय किसानलाई नि:शुल्क वितरण गरेको बोकाबाट संक्रमण फैलिएको हो ।
मरेका बाख्रामा पीपीआर रोग देखिएको र नियन्त्रणको प्रयास जारी रहेको पशु कार्यालयले जनाएको छ ।