सप्तरी–साउन १२ । सप्तरीका एक दर्जन गाविसमा बाढी पसेपछि स्थानीयको बिचल्ली भएको छ ।
स्थानीयस्तरमा प्रशासन र सेनाले केही राहत वितरण गरेपनि राजनीतिक दल र सरकारले राहत तथा उद्धारमा चासो नदेखाएको पीडितको गुनासो छ । जिल्ला देवी प्रकोप उद्घार समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, कृष्णदल गण राजविराजका गणपति भुवनेश्वर आचार्य, नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल तथा शसस्त्र प्रहरीका उपरीक्षक दमन थापा नेतृत्वको छुट्टा–छुट्टै टोलीले प्रभावित क्षेत्रमा पुगी राहत वितरण गरेका हुन् । टोलीले ५ सय परिवारलाई त्रिपाल, च्युरा, मुरही, नुन, विस्कुट, चाउचाउ, चामल, खानेतेल र प्लास्टिक लगायत राहत सामग्री वितरण गरेको छ ।
यसैगरी मौली खोलाको बाढीले कोइलाडी र सकरपुरा गाविसमा भत्काएको बाँध सेनाको कृष्ण दलगण, नेपाल र शसस्त्र प्रहरीले मर्मत सुरु गरेको छ । बाढीबाट थप क्षति हुन नदिन प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी उच्च सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताउनुभएको छ ।