काठमाडौं/जिल्ला–साउन । लगातारको बाढी–पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको छ भने व्यापक जनधनको क्षति भएको छ ।
देशभरको बाढी पहिरोको क्षति विवरण
प्यूठान : बाढीपहिरोमा परी प्यूठानमा मात्रै १७ जनाको मृत्युभएको छ । २१ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये ९ जनाको मात्र सनाखत भएको छ । लुङ गाविस वडा नम्बर ६ बाहाने बजारमा घर भत्किँदा स्थानीय शोभा रिजालको मृत्युभएको छ । कालि परियार, प्रेम थापा, रन्जना केसी र शुसीला केसीको घर पुरिएर मृत्यु भएको छ । पहिरोले घर पुरिँदा पूजा गाविस वडा नम्बर १ रजवाराका सुपारी मल्ल र मुकेश मल्लको पनि मृत्यु भएको छ । खवाङ गाविसमा तीन जना पहिरोमा पुरिएका छन् । दुई जनाको शव निकालिएको छ भने एक जना अझै बेपत्ता छन् । अर्खा गाविसमा पनि पहिरोले घर बगाउँदा ८ जना बेपत्ता भएको स्थानीय मित्रबहादुर थापाले जानकारी दिनुभएको छ । त्यस्तै झिमरुक नदी किनारमा ५ जनाको शव भेटिएको छ ।
गुल्मी : पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ । हस्तिचौर गाविस वडा नम्बर १ मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जीको ज्यान गएको हो । बिसुखर्क गाविस वडा नम्बर ९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीय छोरी सिमाना रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाइते छन् । बढीघाट खोलामा आएको बाढीले मुसिकोट र बामी जोड्ने सुदिको झोलुङ्गे पुल र ग्वालीचौर तथा पौदी जोड्ने झोलुङ्गे पुल समेत बगाएको छ । गुल्मीको भुवाचिदी, उर्लीखोला, मजुवा, साहाघाट, चोरकाटे, रुद्रवेणीलगायत बजार क्षेत्र समेत खतरामा परेका छन् । बजार क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा सर्न थालेका छन् । बाढीले सयौं रोपनी जग्गा डुबानमा पारेको छ । बाढी र पहिरोका कारण गुल्मीमा एक दर्जन भन्दा बढी घर गोठमा समेत क्षति पुगेको छ ।
पाल्पा : अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा पाल्पामा एकै घरका तीनसहित चार जनाको ज्यान गएको छ । गोठादीमा एकै घरका ३ र झुम्समा एक जनाको ज्यान गएको हो । दुर्गम गाविस गोठादी ५ दमारका ४५ वर्षीय तामबहादुर कनौजेको घर पहिरोले पुर्दा उनकी श्रीमती ३५ वर्षीया खगिसरा र १० वर्षीया छोरी योशदाको ज्यान गएको हो । दोभान वडा नम्बर ५ झुम्सामा पहिरोले पुरिएर १५ वर्षीया अस्मिता विकको ज्यान गएको छ । बाढी पहिरोले तीन गाविसका ९ घरमा क्षति पुगेको छ । सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोले तानसेन–बुटवल सडक केही समय अवरुद्ध भएको थियो भने धेरै ग्रामिण सडक अझै अवरुद्ध छन् ।
स्याङ्जा : स्याङ्जामा कालिगण्डकी र पीडिखोलास्थित सेतीबेणीमा आएको बाढीले १० घर डुबाएको छ । कालीगण्डकीमा आएको बाढीले सेतीवेणी जलमग्न बनेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
बाग्लुङ : पहिरोले घर बगाउँदा बागलुङमा तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन् । राजकुट गाविस वडा नम्बर ७ बुडुलामा पहिरोले घर बगाउँदा सुशिला लोक्चनकी ८ वर्षीया छोरी दुजि लोक्चन र २२ वर्षीया छोरी पिटि लोक्चनको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी २८ वर्षीया सुशिला तामाङ गम्भीर घाइते भएकी छिन् । यस्तै, पहिरोले दर्लिङ गाविस मर्याङमा घर बगाउँदा हर्कबहादुर बुढा मगरकी १६ वर्षीया छोरी यमुना बुढाको मृत्युभएको छ । पहिरोमा परी हर्कबहादुरकी ३९ वर्षीया श्रीमती देविबुढा मगर र ८ वर्षीय छोरा राजु बुढा मगर बेपत्ता भएका छन् । पहिरोले बाग्लुङका विभिन्न गाविसमा २० घर बगाएको छ । ग्वालीचौरमा ३ मा तीन, अधिकारीचौरमा १६, भिमगिठेमा एक, बुत्र्तिवाङमा एक घर बगाएको छ । ग्वालीचौरमा १३ र भिमगिठेमा १६ घर भने पहिरोको उच्च जोखिमा छन् । पहिरोले अधिकारीचौरमा रहेको दारीखोला जलविद्युत र बुत्र्तिवाङका तीनवटा जलविद्युत् आयोजना बगाएको छ भने चार वटा झोलुङगे पुल बगाएको छ ।
मकवानपुर: मकवानपुरको भीमफेदी–सोलुभन्ज्याङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भीमफेदी वडा नम्बर ५ सोलुभन्ज्याङकी मनमाया स्याङतानको घर पहिरोले पुरिँदा उनका छोरी–ज्वाई र नातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा मनमायाका ज्वाइँ २५ वर्षीय टेकबहादुर रुम्वा, २३ वर्षीय छोरी पार्वती रुम्वा र ५ वर्षीय नाती विकास रुम्बा छन् । बिहान करिब ४ बजे माथिबाट खसेको पहिरोले घर पुरिएको हो ।
रूपन्देही : बाढीले बगाउँदा रूपन्देहीको सालझण्डीमा दुई जनाको ज्यान गएको छ । सालझण्डीस्थित कञ्चन नदीमा आएको बाढीले ६० वर्षीया छबिलाल गाहा र उनकी पत्नी हुमकली गाहाको मृत्यु भएको हो । त्यस्तै तिनाउँ नदीको बाढीले बुटवलको देबीनगर र बुद्धनगर जोडने झोलुङ्गे पुल बगाउनुका साथै नदी किनारका सुकुम्बासीका घर बगाएको छ । बाढीले तटबन्ध भत्काएर कटान तीब्र पारेपछि तिनाउ नदी किनारमा रहेका हजारौं सुकुम्बासीका घर तथा टहरा उच्च जोखिममा परेका छन् । बाढीका कारण नदी किनारमा रहेका प्रगतिनगर, बुद्धनगर, बिनापाते, मजुवा, पबित्रनगर, सिर्जनानगर, खयरघारी, सुन्दरनगर लगायत १६ हजार सुकुम्वासी घर टहरा उच्च जोखिममा परेका छन् ।
कपिलवस्तु : कपिलवस्तुमा बाढीमा बगेर दुई जनाको मृत्यु भएको छ । बुद्धवाटिका नगरपालिकाकी कल्पना कार्की र बालगंगा नगरपालिकाकी रविना चौधरीको बाढीमा बगेर मृत्युभएको हो । यस्तै, कपिलवस्तुका विभिन्न नदीमा आएको बाढीले जनजीवन प्रभावित पारेको छ । कपिलवस्तुको वाणगंगा, सुरही, कोइली, गुड्रुंग लगायत नदी तथा खोलामा पानीको सतह बढेपछि नदी किनारका वस्तीहरू उच्च जोखिममा परेका छन् । नदी गाउँ पसेपछि कपिलवस्तुको लक्ष्मणघाट, कोपवा, निग्लिहवा, अकवरपुर, हरदौना, सिहोखोर लगायत स्थानका सर्वसाधारण नदी गाउँमा बस्ने डरले त्रसित बनेका छन् । यस क्षेत्रका करिब ५ सयभन्दा बढी घर डुबानमा परेका छन् । सम्भावित क्षति न्यूनीकरणका लागि स्थानीय प्रशासनले विपत् व्यवस्थापनका उच्च सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेले जानकारी दिनुभयो । बाढीका कारण पूर्व पश्चिम राजमार्ग, तौलिहवा बहादुरगंज सडक खण्ड अवरुद्ध बनेको छ । बाढीका कारण कपिलवस्तुका उत्तरी क्षेत्रका केही विद्यालय बन्द गरिएको छ । कपिलवस्तुमा यो साता बाढीले बगाएर दुई जनाको ज्यान समेत गएको छ ।
बाँके : राप्ती नदीमा आएको बाढीका कारण बाँकेको होलिया चौफेरीमा करिब ६ सय जना फसेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समिति र स्थानीय दैवी प्रकोप उद्धार समितिले पटक–पटक सजक बनाउँदा पनि स्थानीयले घर र खेतीपाती नछाडेपछि उनीहरू चौफेरीको टापुमा थुनिएका हुन् । स्थानीय प्रहरीको सकृयतामा अहिलेसम्म १ सय २० जनाको उद्धार गरिएको होलीया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामचरण चौधरीले जानकारी दिनुभयो । बाढीका कारण बाँकेको होलिया, कम्दी, फत्तेपुर, गंगापुरलगायत वस्ती डुबानमा परेका छन् । यस्तै बबई नदीमा आएको बाढीका कारण नेपालगञ्ज–गुलरिया सडक अवरुद्ध भएको छ । बाढीले भादा पुल नाघेपछि सडक अवरुद्ध भएको हो ।
कास्की : पोखराको रामघाटस्थित सुकुम्वासी वस्ती डुबानमा परेको छ । सेती नदी थुनिँदा रामघाटस्थित नदी किनारको वस्ती डुबानमा परेको हो । वर्षाका कारण हेम्जाको घट्टेखोला र फेदीमा पहिरो जाँदा पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । याम्दीखोलामा पानीको बहाब बढेपछि पोखरा–कसेरीका ३५ घर जोखिममा परेका छन् । बाढीले पोखराको पार्चेमा तीन घर बगाएको छ । मादी नदीमा आएको बाढीले पार्चे–१ सोंधा गाउँका अशोक भुजेल र बालसिहं भुजेलको घर, स्थानीय क्लिनिक र विद्यालयको पुरानो भवन पनि बगाएको छ । मादी नदी किनाराका वस्ती उच्च जोखिममा परेका छन् ।
तनहुँ : मादी र सेती नदीमा आएको बाढी वस्तीमा पसेपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाका ४५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । शुक्लागण्डकीका वडा नम्बर ३ र १३ वडाका ४५ घर खाली गराई स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । हालसम्म तनहुँमा कुनै मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ । तनहुँको भीमाद र माझकोट जोड्ने पुल भासिँदा यातायात अवरुद्ध भएको छ ।