देशभर बाढी र पहिरो, ठूलो जनधनको क्षति

काठमाडौं/जिल्ला–साउन । केही दिनदेखि परेको अविरल बर्षले देशका बिभिन्न स्थानमा बाढी र हिरोले ठूलो जनधनको क्षति भएको छ ।

प्यूठान: प्युठानको झिमरुक खोला आएको बाढी पहिरोका कारण ४ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार ४ जना पहिरोमा पुरिएर वेपत्ता छन । प्यूठान लुङ–६ बाहानेस्थित शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यू भएको छ । बाहानेकै सिमलबुटास्थित धोजबहादुर पुनको घर पहिरोले पुरिंदा डेरा गरि बस्ने अन्दाजी २५ बर्षीया काली परियार, किरण थापा र अन्य २ जना पुरिएका छन् । पुनकी २८ वर्षीया छोरी पवित्रालाई सकुशल उद्धार गरिएको छ । झिमरुक ड्याम साइड रम्दीमा झिमरुक खोलाले बगाएको २ वटा शव भेटिएको जिल्ला प्रहरी प्रमुख रंजितसिंह राठौरले जानकारी दिनुभयो । त्यस्तै विजुवारमा निर्माणाधिन प्यूठान नगरपालीकाको भवन नजिकै १ जनाको शव खोलाले बगाएर ल्याएको छ । यस्तै, वाग्दुला पुल नजिकै अन्दाजी १२ वर्षीया एक वालिका पनि मृत फेला परेको प्रहरी प्रमुख राठौरले जानकारी दिनुभयो ।

यस्तै, अविरल वर्षासगै आएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ । गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासि एकै परिवारका ६२ वर्षीय कालीका दर्जी, ४९ वर्षीय तुलसी दर्जी र १९ वर्षीय अस्मिता दर्जीको ज्यान गएको हो । त्यस्तै  बिसुखर्क गाविस ९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीय छोरी सिमाना रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बढीघाट खोलामा आएको बाढीले मुसिकोट र बामी जोड्ने सुदिको झोलुङ्गे पुल र ग्वालीचौर र पौदी जोड्ने झोलुङ्गे पुल समेत बगाएको छ । वाढीका कारण वाग्लुङ्गको खर्वाङ्ग वजार, गुल्मीको भुवाचिदि, उर्लीखोला, मजुवा, साहाघाट,चोरकाटे, रुद्रवेणी लगायतका वजार क्षेत्र समेत खतरामा परेका छन् ।

पाल्पा: त्यस्तै पाल्पाको दोभान गाविस वडा नंम्बर ५ झुम्साको दलित बस्तिका ७ घर पहिरोले बगाएको छ भने ४ जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको झुम्सा पुल नजिकै पहिरोले राजमार्गको छेउमा रहेका ७ वटा घर बगाएको हो । घर बगाउदा तिलोत्तमा उच्च मावि कक्षा ९ मा अध्यनरत १५ बर्षिय अस्मिता विकको मृत्यु भएको बताइएको छ । अविरल वर्षासँगै ठाउँ–ठाउँमा पहिरो जाँदा पाल्पाका अधिकांश सडक अवरुद्ध बनेका छन् । स्याङ्जामा कालिगण्डकी र पीडिखोलास्थित सेतीबेणीमा आएको बाढीले १० घर डुवाएको छ । कालीगण्डकीमा आएको बाढीले सेतीवेणी जलमग्न बनेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

मकवानपुर : मकवानपुरको भीमफेदी–५ सोलुभन्ज्याङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भीमफेदी–५ सोलुभन्ज्याङकी मनमाया स्याङतानको घर पहिरोले पुरिँदा उनका छोरी–ज्वाई र नातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मनमायाका ज्वाइँ २५ वर्षीय टेकवहादुर रुम्वा, २३ वर्षीय छोरी पार्वती रुम्वा र ५ वर्षीय नाती विकास रुम्बा रहेको प्रहरीले जनाएको छ । छोरी ज्वाई र नातीलाई घरमा सुताएर आफू अर्को घरमा सुतेकाले मनमाया भने बाँच्न सफल भएकी छिन् ।

रुपन्देही: बाढीले बगाउँदा रुपन्देहीको सालझण्डीमा २ जनाको ज्यान गएको छ । सालझण्डीस्थित कञ्चन नदीमा आएको बाढीले स्थानीय ६० बर्षीय छबिलाल गाहा र उनकी पत्नी हुमकली गाहाको मृत्यु भएको हो । त्यस्तै तिनाउँ नदीको बाढिले बुटवलको देबीनगर र बुद्धनगर जोडने झोलुङ्गे पुल बगाउनुका साथै नदी किनारका सुकुम्बासीका घर बगाएको छ । । बाढिका कारण नदी किनारमा रहेका प्रगतीनगर, बुद्धनगर, बिनापाते, मजुवा, पबित्रनगर, सिर्जनानगर, खयरघारी, सुन्दरनगर लगाएतका एक दर्जन भन्दा बढि सुकुम्बासी बस्तीहरु उच्च जोखिममा परेका छन । राप्ति नदिमा आएको बाढिका कारण बाँकेको होलीया चौफेरीमा ७ सय जना स्थानीयहरु थुनिएका छन ।

तपाईको प्रतिक्रिया