पोखराको रामघाट डुवानमा

कास्की–साउन ११ । अबिरल बर्षाका कारण पोखराको रामघाटस्थित सुकुम्बासी बस्ती डुवानमा परेको छ । अबिरल बर्षाले सेती नदी थुनिदा रामघाटस्थित नदी किनारको बस्ती डुबानमा परेको हो ।

नदीमा आएको बाढीले ४० वटा बंगुर र एउटा गाई डुवाएको छ । आज बिहान तीन बजेतिर अचानक बाढी आएपछि स्थानीयमा भागाभाग भएको थियो । रामघाटस्थित सेती नदीमा जम्मा भएको पानीको निकास साँगुरो भकाले रामघाट डुवानमा परेको प्रहरीले जनाएको छ । यसैगरि वर्षाका कारण हेम्जाको घट्टेखोला र फेदीमा पहिरो जाँदा पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।

यस्तै, याम्दीखोलामा पानीको बहाब बढेपछि पोखरा १ कसेरीका ३५ घर जोखिममा परेका छन् । उनीहरुलाई पनि सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । त्यसैगरि अविरल वर्षासँगै आएको बाढीले पोखराको पार्चेमा तीन घर बगाएको छ । मादी नदीमा आएको बाढीले पार्चे–१ सोंधा गाउँका अशोक भुजेल र बालसिहं भुजेलको घर बगाएको हो । त्यस्तै, स्थानीय क्लिनिक र विद्यालयको पुरानो भवन पनि बगाएको छ ।

मादी नदी किनाराका बस्ती उच्च जोखिममा परेका छन् । नदीमा बाढी बढेपछि नदी किनाराका स्थानीय गाउँभन्दा माथि रहेको दुधपोखरी माविमा आश्रय लिएर बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया