काठमाडौं–साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीचको सहमतिबाट सहज वातावरण निर्माण गरेर अघि बढ्न तीन दलका प्रमुख नेताहरुलाई सुझाब दिनुभएको छ ।
प्रमुख दलका नेताहरुलाई राष्ट्रपति भण्डारीले सोमबार आफ्नो सरकारी निवास शीतल निवासमा बोलाएर सहमतिकासाथ अघि बढ्न आग्रह गनुभएको हो । शीतल निवासमा भएको भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष समेत रहनुभएका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयन र राष्ट्रिय समृद्धिका मुद्धामा एक हुन आग्रह गर्नुभएको थियो ।
भेटवार्तामा दलका नेताहरुले समेत राष्ट्रिय हितका मुद्धा र संविधान कार्यान्वयनमा एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटवार्तामा संविधान कार्यान्वयन लगायतका राष्ट्रिय मुद्दाहरूमा आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्ध्ता जनाएको बताइएको छ । भेटका क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले समेत सरकार गठन प्रक्रियामा सहज वातावरण निर्माण गरेर अघि बढ्ने बारे राष्ट्रपतिलाई आस्वस्त पारेको श्रोतको दाबी छ ।