काठमाडौं–साउन १० । विधानविपरित जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि चुनिएको भन्दै नेविसंघका असन्तुष्ट नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनमा बसेका छन् ।
आइतबारबाट रिले अनशन सुरु गरेका विद्यार्थी नेताहरुले माग सम्बोधन नभए पाँच दिनपछि आमरण अनशन थाल्ने चेतावनी पार्टी नेतृत्वलाई दिएका छन् । विधिसम्मत ढंगले महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व चयन गर्नुपर्नेमा टिके प्रथाबाट चयन भएको आरोप असन्तुष्ट पक्षको छ । आइतबार अध्यक्षका दाबेदार कुन्दन काफ्ले र युवराज पाण्डेसहित एघार जनाको टोलीले थालेको अनशनको सोमबारको नेतृत्व डिल्लीराम सुवेदी र बलदेव तिमिल्सिनाले गरेका छन् ।
रञ्जित कर्ण र ऋषिकेशजंग शाह मात्रै बसेर २२ जिल्लाका नेतृत्व र करिब १६ सय प्रतिनिधि बाँडफाड गरेर आरोप असन्तुष्ट पक्षले लगाएका छन् । यता, नेता कर्ण र शाहले भने आरोप निराधार भएको भन्दै जिल्ला तहबाट आएको शिफारिस अनुमोदन मात्र गरेको जिकिर गरिरहेका छन् ।
नेविसंघको आगामी ११ औं महाधिवेशन यही साउन २३ गतेदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशन सम्पन्न गर्न कांग्रेसले डा. प्रकाशशरण महतको नेतृत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन गरेर निर्वाचन तयारी नै अघि बढाएको छ ।