काठमाडौं–साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ ।
संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथी उठेका प्रश्नको जवाफ दिएपछि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा घोषणा गर्नुभएको हो । उहाँले आफु स्वार्थ पुरा गर्न प्रधानमन्त्री भएको नभई उपलब्धीको रक्षा र देश तथा जनताको समृद्धिको चाहना पुरा गर्न बनेको जिकिर गर्नुभयो । सरकार र आफूप्रति लगाइएको आरोप निराधार भएको भन्दै प्रधानमन्त्री ओलीले पदका लागि भन्दा पनि देश र जनताको भविश्यको चिन्ताले पिरोलेको बताउनुभयो । यसअघि, मन्त्रिपरिषद् बैठकबाट बाधा अड्काउ फुकाउ आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष लिखित राजीनामा बुझाएर संसदलाई जानकारी गराउनुभएको हो ।
राजीनामा पेश गर्दैगर्दा प्रधानमन्त्री ओलीले सरकारले अघि सारेका गौरबका आयोजना, विमानस्थल निर्माण, शैक्षिक प्रमाण पत्र राखेर युवालाई ऋण उपलब्ध गराई उद्यमशिलता बढाउने, विपन्नलाई नि:शूल्क उच्च शिक्षा दिने लगायतका कार्यक्रम के हुन ? कसरी अघि बढाउनुहुन्छ भन्दै प्रश्न गर्नुभएको थियो ।